Listen LIVE

गैडाको आक्रमणबाट बर्दियामा नेचर गाइडको मृत्यु

बर्दिया : गैडाको आक्रमणबाट बर्दियामा नेचर गाइडको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १ डल्लास्थित शिव सामुदायिक वन क्षेत्रमा नेचर गाइड मनमोहन चौधरीको मृत्यु भएको हो ।

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ हात्तीसार निवासी चौधरीको गैडाको आक्रमणबाट शुक्रबार बिहान साढें ९ बजेतिर मृत्यु भएको निकुञ्जका संरक्षण अधिकृत एवम् सूचना अधिकारी पुरुषोतम वाग्लेले जानकारी दिए । गैडाको आक्रमणबाट अमेरिका क्यालिफोर्नियाका एमसी लेनडन घाइते भएका छन् । 

उनलाई उपचारका लागि ठाकुरबाबा नगर अस्पताल भुरिगाउँमा पठाइएको छ । स्थानीय बासिन्दाका अनुसार शुक्रबार बिहान ८ बजेतिर नेचर गाइड चौधरी, अमेरिकी नागरिक लेनडन र शिव सामुदायिक वन समुहका हेरालु गैडा अवलोकन गर्नका लागि वन क्षेत्रमा प्रवेश गरेका थिए । वन क्षेत्रमा प्रवेश गरे लगत्तै उनीहरुले पोखरीमा आहाल बसेका बच्चासहितको गैडा देखेका थिए ।

मानिसको चहल पहल देखेर गैडा त्यहाँबाट भागेको थियो । तर, जंगलभित्र गैडासँग पुनः जम्काभेट भयो । सोही क्रममा बच्चासहितको गैडाले आक्रमण गरेको स्थानीयले बताए । घटनास्थल डिभिजन वन कार्यालय बर्दियाको कार्यक्षेत्र हो । बर्दिया राष्ट्रिय निकुञ्जको डल्ला पोष्टभन्दा करिव २ सय मिटर पुर्वमा पर्दछ । स्थानीयका अनुसार निकुञ्ज नजिकै रहेको उक्त सामुदायिक वन क्षेत्रमा ३ वटा बच्चा सहितका ३ वटा माउ र एउटा भाले गैडा बस्दै आएका छन् ।

प्रतिक्रिया