Listen LIVE

मौसममा देखिएको खराबीका कारण धान भित्र्याउँदै बाँकेका किसान

नेपालगञ्ज : तिहारको चहलपहल गाउँदेखि शहरसम्म चलिरहेपनि मौसममा देखिएको उतारचढावका कारण पानी पर्नसक्ने भन्दै बाँकेका किसानहरु खेतमा काटेर राखेको धान थन्क्याउन ब्यस्त छन् । पानी पर्ने डरले बाँकेको डुडुवा, राप्तीसोनारी, नरैनापुर, खजुरा, कोहलपुर, बैजनाथलगायतका किसानहरु धान थन्क्याउन ब्यस्त भएका हुन् ।

काटेको धानमा पानी परेपछि कुहिने मात्र नभई धान उम्रिन सक्ने र बालीनै नष्ट हुने डरले किसानहरुलाई दिपावलीको चिन्त भन्दापनि अन्नबालीको चिन्ताले दिनरात खेतमा धानका पुला बनाउने र सुरक्षित स्थानमा लैजाने निरन्तर जोहो गर्दै आएका छन् । कतिपयले धानका भारीहरुलाई एकत्रित गर्दै थ्रेशरमार्फत धान झार्न थालेका छन् भने कतिले धानलाई कुन्यु बनाई थन्क्याउन ब्यस्त रहेको बैजनाथ ७ पेडारीका वडाध्यक्ष दिनेश चौधरीले बताए ।

धानबालीपछि गँहु, मसुरो, चना छर्ने खेत तयार गर्नसमेत किसानलाई यतिबेला हतारो रहेको छ । खेतको चिस्यान सुकेपछि जोत्न समस्या हुने भएकाले चिस्यान कायम रहँदै जोत्नु पर्ने हुँदा दीपावलीपछि खेत जोत्न किसानहरु ब्यस्त हुने भएकाले पनि धान भित्र्याउन हतार भएको वडाध्यक्ष चौधरीको भनाई छ ।

प्रतिक्रिया