Listen LIVE

सरकारले सभापतिलाई धरपकड गर्यो : प्रमुख सचेतक परियार

रुकुमपश्चिम : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले देशको चौथो ठुलो दलको सभापतिमाथि सरकारले धरपकड गरेकोले जनतालाई केसम्म गर्ला भन्ने डर पैदा भएको बताएका छन् । 

रास्वपा रुकुमपश्चिमको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्न मुसीकोट पुगेका परियारले शनिबार आयोजित पत्रकार भेटघाटमा सरकारको रवैया देखाएको तर पार्टी नडराएको स्पष्ट पारे । सहकारी ठगी प्रकरणमा शुक्रबार पार्टी सभापति पक्राउ परेको सन्दर्भमा उनले सरकारले सभापति रवि लामिछानेलाई पक्राउ गरेर गल्ती गरेको बताए । कानुनलाई सम्मान गर्छौ र अनुसन्धानमा सघाउँछौँ भन्दाभन्दै व्यक्ति र पार्टीका पछि हात धोएर लागेको घटना अकल्पनीय र खेदजन्य भएको उनको भनाइ छ । सरकार सर्वसत्तावादमा गएको उनको टिप्पणी छ ।

सरकारले राजनीतिक प्रतिशोधकै लागि सभापति लामिछानेलाई गैरन्यायिक रूपमा पक्राउ गरेको परियारले दाबी गरे । सरकारको यो कदमको कडा प्रतिवाद गर्ने समेत उनले बताए । साङ्केतिक तथा प्रदर्शन लगायतका गतिविधि मार्फत सरकारको यो कदमको प्रतिवाद गर्ने उनको भनाइ छ ।

सरकारले यसैगरी अन्याय थोपार्दै सत्ताको उन्माद बढाएमा एउटा राजनीतिक पार्टीका लागि सडक र जनता भन्दा ठुलो शक्ति केही पनि नहुने बताउँदै उनले सडक सङ्घर्षमा जानसमेत बाध्य हुने जनाए । उनले मुद्दा मिल्ने अवस्थामा विभिन्न राजनीतिक दलसँग पार्टीले सहकार्य गर्ने समेत बताए ।

प्रतिक्रिया