Listen LIVE

काँचो केरा र लट्टेको सागमै भेटियो विषादी

झापा : बिर्तामोडस्थित कृषि थोक बजारमा किसानले बेच्न ल्याएको काँचो केरामा विषादी भेटिएको छ। इलामको दानाबारीबाट ल्याइएको काँचो केरामा खान नमिल्ने गरी विषादीको मात्रा भेटिएको हो।

दानाबारीका किसान कमल मगरले ७० घरी काँचो केरा ल्याएका थिए। उक्त केराको तीन नमुना परीक्षण गर्दा दुई नमुनामा कार्बामेट कीटनाशक विषादीको उच्च मात्रा फेला परेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाकी प्रमुख अम्बिका बोहोराले बताइन्।

बिर्तामोडमा रहेको प्रयोगशालामा परीक्षणका क्रममा दुईवटा नमुनामा कार्बामेटको रोकावट ५२.८५ र ५३.११ प्रतिशत कार्बामेट भेटिएको छ। अर्को नमुनामा भने ४४.७६ प्रतिशत भेटिएको छ।

तरकारी तथा फलफूलमा कार्बामेटको रोकावट प्रतिशत ४५ भन्दा उच्च फेला परेमा खान अयोग्य ठहरिने हुँदा त्यसलाई विसर्जन गर्नुपर्ने प्राविधिक बोहोराले बताइन्। विषादीको मात्रा ३५ देखि ४५ प्रतिशतसम्म भेटिएको तरकारी तथा फलफूललाई केही दिन क्वारेन्टाइनमा राखेर हेर्नुपर्ने उनले जानकारी दिइन्।

काँचो केरामा अर्गानो फस्फेट कीटनाशक विषादीको मात्रासमेत उच्च पाइएको छ। अर्गानो फस्फेटको मात्रा २७ देखि ३५ प्रतिशतसम्म फेला परेको छ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक नगेन्द्र संग्रौलाले खान अयोग्य ठहरिएका तरकारी तथा फलफूल नष्ट गरिने र पर्खेर हेर्नुपर्ने भएमा कृषिथोक बजारकै क्वारेन्टाइनमा केही दिन राखेर पुनः विषादी अवशेष परीक्षण गरिने बताए।

केही दिनअघि कृषिथोक बजारमा बेच्न ल्याइएको लट्टे सागमा पनि खान अयोग्य हुनेगरी विषादीको अवशेष पुष्टि भएको उनले जानकारी दिए।

प्रतिक्रिया