सुर्खेत : छिमेकी राष्ट्र चीनसँग कर्णाली प्रदेश जोडिने सीमा नाका खुला गराइदिन गृहमन्त्री रमेश लेखक समक्ष आग्रह गरिएको छ । मंगलबार नेपाली काङ्ग्रेस कर्णाली प्रदेश संसदीय दलको बैठकमा सहभागी गृहमन्त्री लेखक समक्ष सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सीमा नाका खुला गरिदिन आग्रह गरेका हुन् ।
कर्णाली प्रदेशको छिमेकी मुलुकहरुसँग प्रत्यक्ष रूपमा नाका जोडिए यहाँको व्यापारिक हिसाबले सहज हुने धारणा राखे ।
कर्णालीका डोल्पा, हुम्ला र मुगु जिल्ला चीन सिमानासँग जोडिएका छन् । चीनसँगको मित्रवत सम्बन्ध र व्यावसायिक गतिविधिलाई बढाउन सीमानाका खोल्नुपर्ने तर्क प्रस्तुत गरे ।
साथै, नेपाली काङ्ग्रेस प्रदेश सभापति ललितजंग शाहीले पनि नाका खोल्नका लागि पहल गरे । त्यसका लागि गृहका तर्फबाट सुरक्षा रणनीति तत्काल अपनाई नाका खुला गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराए ।
पूर्वमुख्यमन्त्री जीवन बहादुर शाहीले भूगोल अनुसार विकट भएको कर्णालीमा सिमकोट, डोल्पाका क्षेत्रलाई निषेधित क्षेत्र तोकिएका विषयमा ध्यानाकर्षण गराउँदै यी क्षेत्रमा पर्यटक अनुमति दिनुपर्ने बताए । ती क्षेत्रमा गृहको स्वीकृति बिना हेलिकप्टर समेत उड्न नसकेको जानकारी गराए ।
संघीयता अहिलेको मोडलमा सफल नभएको टिप्पणी गरे । वडाध्यक्ष मुख्यमन्त्री भन्दा बलियो भएको टिप्पणी गर्दै सरकारको स्थायित्वका लागि पहल गर्नुपर्ने सुझाव राख्दै प्रदेशमा मुख्यमन्त्रीसम्म प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने विकल्पका रूपमा प्रस्तुत गरे ।
कर्णालीको भूगोल बमोजिम प्रहरी चौकी स्थापना गर्नुपर्ने बताउँदै उनले यसका लागि गृहमन्त्रीको पहल आवश्यक रहेको बताए ।
गृहमन्त्री लेखकले कर्णालीको जटिल भूगोलको सम्भावना पनि उतिकै बढी भएको बताए । सुदूर र कर्णालीका क्षेत्र भविष्यको सम्भावना बोकेका ठाउँ भएको बताउँदै यसका लागि सरकारको निरन्तर पहल कदमी हुनुपर्ने बताए ।