नेपालगञ्ज : कृषि ज्ञान केन्द्र बाँकेले जिल्लाका किसानहरुको समस्या बुझ्नका लागि किसान कै खेतबारीमा कृषि प्राविधिक सहितको टोली पठाएर ‘कृषक प्राविधिक भेटघाट’ अभियान सञ्चालन गरेको छ ।
लुम्बिनी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि ज्ञान केन्द्र कार्यालयमार्फत् कृषक प्राविधिक भेटघाट कार्यक्रमअन्तर्गत बाँकेका किसानहरुसँग भेटघाट सुरु गरिएको कार्यालयले जनाएको छ ।
हालसम्म जिल्लाका डुडुवा गाउँपालिका वडा नम्बर २, नरैनापुर गाउँपालिका २ र ६ का कृषकका खेतबारीमै पुगेर उनीहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको वरिष्ठ वागवानी विकास अधिकृत सन्तोष पाठकले जानकरी दिए ।
“प्रदेश मै पहिलोपटक प्रदेश सरकारको स्वीकृत वार्षिक कार्यक्रम अनुसार जिल्लाका किसानहरुको खेतबारी र घरघर मै पुगेर उहाँहरुसँग भेटघाट, छलफल तथा अन्तरक्रिया गरी उहाँहरुका समस्याहरु बुझ्ने काम गरिरहेका छौँ,” अधिकृत पाठकले भने, “अघिल्ला वर्षहरुमा पनि किसानसँग जाने गरिए पनि औपचारीक रुपले सरकारले घोषणा गरेको कार्यक्रम यो पहिलो हो, बाँकेमा तीन स्थानका किसानहरुसँग पुगेर उहाँहरुका समस्याका बारेमा जानकारी लिएका छौँ ।”
किसानहरुसँग छलफल गरेर उहाँहरुका गुनासा तथा समस्याहरु बुझेर कार्यालयले समाधान गर्न सक्ने समस्या समाधान गरिदिने र अन्य जटिल समस्याहरु समाधानका लागि कृषि अनुसन्धान केन्द्रमा सुझावसहित पठाइने गरेको उनले बताए ।
“स्थलगत रुपमा फिल्ड मै पुगेर किसानसँग भेटघाट तथा छलफल गर्ने, समस्याहरु पहिचान गर्ने र कार्यालयले समाधान गर्न सक्ने समस्या समाधान गरिदिने र जटिल खालका समस्याहरु देखिएमा सुझावसहित कृषि अनुसन्धान केन्द्रमा पठाउने गरेका छौँ,” पाठकले भने, “दूरदराजमा रहेका किसानहरुसँग भेटघाट छलफल गरेर उहाँहरुका समस्या समाधानका लागि यो कार्यक्रम उपलब्धीमूलक हुने विश्वास लिएका छौँ ।”
किसानका घरखेत मै पुगेर किसानसँग दोहोरो संवाद र छलफल हुँदा किसान पनि प्रोत्साहित हुने र आवश्यक जानकारी प्राविधिकसँग लिन सक्ने तथा किसानका समस्या कार्यालयले प्रत्यक्षरुपमा देख्न र बुझ्न सक्ने हुँदा त्यहाँबाट प्राप्त हुने विषयहरुलाई आगामी योजना बनाएर कार्यान्वयन गर्न सजिलो हुने हुँदा यो कार्यक्रम प्रभावकारी हुने देखिएको पाठकको भनाइ छ
केहि दिन अगाडिबाट सुरु गरिएको अभियान अन्तर्गत हालसम्म डुडुवा २ कोलहीका किसान, नरैनापुर २ स्थित चुरे बहुउद्देश्यीय कृषि सहकारी संस्थाका किसान र वडा नम्बर ६ स्थित सन्तानेश्वर कृषि समुहका किसानसँग छलफल गरि किसानका समस्याहरुका बारेमा जानकारी लिइएको पाठकले बताए । समयमा मलको अभाव हुने, माटो परीक्षण शिविर नियमित रुपमा हुनुपर्ने, बीउँ उत्पादनका लागि बोरा सिलाउने मेशिनको आवश्यकता, चिस्यान मापन यन्त्र, भण्डारणका लागि गोदाम घर, विभिन्न रोग किराको प्रकोप, सिचाइँको अभाव तथा डुवान क्षेत्रलगायतका समस्याहरु पाइएको उनले जानकारी दिए ।
भेटघाटका क्रममा किसानहरुलाई आवश्यक सल्लाह सुझाव तथा प्राविधिक प्रकाशन (पर्चा, पम्प्लेट तथा ब्रोसर) वितरण गरिएको र किसानका समस्याहरुका बारेमा सुझावसहित कृषि अनुसन्धान केन्द्रमा पठाइने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार १२ वटा कार्यक्रममध्ये तीन वटा कार्यक्रम गरिएको र बाँकी नौ वटा कार्यक्रम आवश्यकताका आधारमा जिल्लाका अन्य स्थानमा सञ्चालन गरिनेछ ।