Listen LIVE

यो सरकारले निष्पक्ष चुनाव गर्न सक्दैन : अधिकारी

नेपालगञ्ज : नेकपा एमालेका स्थायी कमिटीका सदस्य खगराज अधिकारीले अहिलेको सरकारले निष्पक्ष चुनाव गराउन नसक्ने बताएका छन्।

प्रेस चौतारी, बाँकेले बुधबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अधिकारीले अहिलेको सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको बताउँदै यस सरकारले निष्पक्ष चुनाव गराउन नसक्ने बताएका हुन्।

उनले संसद पुनःस्थापना हुनुपर्ने मागसमेत गरे। ‘संसद पुनस्र्थापना गरौँ। सर्वपक्षीय सहमतिका साथ संविधानमा व्यवस्था गरेर गैरसांसदलाई केही अवधिका लागि प्रधानमन्त्री बनाऔँ’, अधिकारीले भने, ‘त्यसमा नवयुवालाई पनि समेटौँ। त्यो सरकारले चुनाव गराउँछ।’

उनले भ्रष्टाचार र जेनजी आन्दोलनको निष्पक्ष छानबिन गर्न अर्काे उच्चस्तरीय आयोग बनाउनु पर्ने बताए। ‘घटना अघि नै केपी ओलीविरुद्व बोल्ने व्यक्तिले निष्पक्ष छानबिन गर्न सक्दैन’, अधिकारीले भने।

चौतारी बाँकेका अध्यक्ष कमल डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्यद्वय सूर्य ढकाल र मोहम्मद हारुन अन्सारीलगायतको उपस्थिति थियो।

प्रतिक्रिया