Listen LIVE

भ्रष्टाचार नियन्त्रण गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण छ : मुख्यन्त्री आचार्य

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समाज रुपान्तरणका लागि सञ्चार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ दाङ शाखाको मङ्गलवार घोराहीमा आयोजना गरेको ‘मिडिया मन्थन’ पुस्तकको विमोचन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले त्यसका लागि सञ्चार क्षेत्रले तथ्यमा आधारित भएर सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गर्नुपर्ने बताए। 

कुनै पनि तथ्यमा आधारित भएर सुधारका लागि गरिएको आलोचनाले सुधारका लागि सहयोग गर्ने भन्दै मुख्यमन्त्री आचार्यले भने,‘सरकार सच्चिन चाहन्छ।  त्यहीँ भएर तथ्यमा आधारित भएर आलोचना गर्नुहोस्। तपाईंहरु आलोचना गर्न नडराउनुहोस्। ’ 

सकारात्मक आलोचनाले सच्चिनका लागि सहयोग गर्ने भन्दै उनले तथ्यमा आधारित आलोचनाबाट सच्चिएर अघि बढ्ने बताए। उनले राजनीतिक स्थायित्व कायम गर्न, आर्थिक अवस्था सुधार गर्न संयुक्त सरकार बनेको र वर्तमान सरकारले जनतामा आशा जगाउन मुख्यमन्त्री र मन्त्रीका नाममा हुने फजुल खर्च नियन्त्रण गर्नका लागि प्रदेशमा आचारसंहिता बनाएर लागू गरिएको बताए।  

पूर्व विशिष्ट व्यक्तिको नाममा सरकारको ढुकुटीबाट सेवा सुविधा दिने निर्णय फिर्ता गरेर जनतामा आशा जगाउने काम प्रदेश सरकारले गरेको भन्दै मुख्यमन्त्री आचार्यले जनताको सेवा गर्न आएको समममा राज्यको सम्पत्तिको दुरुपयोग गर्न नहुने बताए। उनले भने,‘पदबहाली गरेको ४७ दिन भयो।  सरकारले यो अवधिमा सुशासन, पारदर्शीको क्षेत्रमा केही महत्त्वपूर्ण कामहरु अघि बढाएका छौं।  सरकारले जनतामा आशा जगाउन काम थालेको छ।  यसमा सञ्चार क्षेत्रको सहयोगको खाँचो छ। ’ 

कार्यक्रममा उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले विश्वसनीय सूचना र समाचार प्रवाहमा ध्यान दिन आग्रह गरे। पत्रकार महासङ्घले गरेको मिडिया सम्मेलनले जिल्लाको पत्रकारितामा नयाँ आयाम थप्ने काम गरेको भन्दै विश्वसनीय सूचना र समाचारका लागि अध्ययन र अनुसन्धानमा ध्यान दिनुपर्ने बताएका थिए।

प्रतिक्रिया