Listen LIVE

अपहरण गरी कुटपिट गर्ने तीन पक्राउ

धनगढी : दुई जनालाई अपहरण गरी बन्धक बनाएर कुटपिट गरेको आरोपमा कैलाली प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । 

प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका –५ का १८ वर्षीय अमित नेगी, डडेल्धुरा अमरगढी नगरपालिका –१ का १८ वर्षीय विशाल भट्ट र कैलालीको गोदावरी नगरपालिका –१ अत्तरियाका २४ वर्षीय भुपी खड्कालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । 

आरोपित अमित र विशाल पढाइको सिलसिलामा धनगढी उपमहानगरपालिका –१ सन्तोषी टोलमा बस्दै आएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । तीनै जनाले बझाङको केदारेस्यु गाउँपालिका –६ घर भई हाल पढाइको सिलसिलामा धनगढी उपमहानगरपालिका –४ मा डेरामा बस्ने १७ वर्षीय योगेश धामी र मष्टा गाउँपालिका –६ घर भइ डेरामा बस्ने १७ वर्षीय अशोक खड्कालाई कुटपिट गरेको प्रहरीमा उजुरी परेको थियो । 

पीडित दुवै जनाले आफूहरुलाई कोठाबाटै अपहरण गरी तारानगरमा रहेको मान्छे नबस्ने एक घरमा बन्धक बनाएर पाँच ट्याब्लेट लागुऔषध खुवाइ खुकुरी देखाएर कुटपिट गरेको वडा प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडितको उजुरीको आधारमा प्रहरीले तीनै आरोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए ।  

उनले भुपी खड्काको कोठाबाट एक थान खुकुरीसमेत बरामद भएको र निजहरुको मोबाइल चेकजाँच गर्दा कुटपिटको भिडियो भेटिएको जानकारी दिए । मोबाइलमा कुटपिटको भिडियो भेटिएको आधारमा प्रहरीले हिरासतमा राखेर तीनै जनामाथि कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया