नेपालगञ्ज : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई २०६४ सालकै अवस्थामा ल्याउने अभियान सुरु गरेको बताएका छन् । नेकपा माओवादी केन्द्र बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी नेतृत्वको सरकारले जनहितमा गरेका कामहरुले गर्दा जनतामा माओवादीप्रति फेरी बिश्वास बढाउने काम गरेको बताए ।
उनले २०६४ सालमा माओवादीलाई नेपाली जनताले ठुलो विश्वास गरेर अपार समर्थन गरेको तर पार्टीभित्र देखिएका विभिन्न विकृति र जनताबाट टाढिने प्रवृतिले गर्दा बिचमा जन समर्थन घटेको बताए ।
पूर्व प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले सानो समयमा भ्रष्टाचार निवारण, सुशासन र सामाजिक न्याय तथा बिकासका लागि धेरै उदाहरणीय कामहरु गरेकोले पार्टीप्रति जनतामा फेरी बिश्वास र समर्थन बढ्दै गएको बताए । उनले सुशासनसँगै सामाजिक न्यायको क्षेत्रमा मिटरब्याजको समस्या समाधान गरिएको, हजारौं नागरिकताविहीनले नागरिकता पाउने व्यवस्था मिलाइएको र देशबाहिर तथा देशभित्र रहेका लाखौं श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेर नयाँ आशाको जागृत गरिएको पनि स्पष्ट पारे ।
सोही कारणले अब माओवादीलाई कसैको वैशाखी नचाहिएको जनाउँदै अध्यक्ष प्रचण्डले २०८४ सालमा एक्लै निर्वाचनमा सहभागि हुने र कसैले नसोचेको परिणाम ल्याउने उदघोष गरे ।
वर्तमान सरकार विचौलिया र भ्रष्टाचारीहरुले बनाएको असंवैधानिक सरकार भएको दावी गर्दै उनले आफ्नो सरकारले गरेको भ्रष्टाचार विरुद्धको अभियानबाट अत्तालिएर विचौलियाहरुले यो सरकार गठन गराएकोले यसको आयु पनि धेरै लामो नभएको दावी गरे ।
माओवादी पार्टी फुट्न थाल्यो र जनार्दन शर्माले पार्टी फुटाउन थाले भनेर देशभरि वाहियात हल्ला चलाईएको जनाउँदै अध्यक्ष प्रचण्डले स्थायी समितिको बैठकले पार्टीलाई एक ढिक्का गरेर त्यस्तो हल्ला मचाउनेहरुलाई कडा जवाफ दिईसकेको प्रष्ट पारे । आफ्नो नेतृत्वको सरकारले गरेका राम्रा कामहरुका बारेमा शहीद परिवार, अङ्गभङ्ग भएकाका परिवार, तत्कालिन जनसेनाका परिवार र जनताको घर दैलोमा पुगेर प्रष्ट रुपमा जानकारी गराउन अध्यक्ष प्रचण्डले जिल्ला नेतृत्वलाई निर्देशन दिए ।
उनले बाँके जिल्ला मधेशी, मुस्लिम र थारु बाहुल्य जिल्ला भएकोले पार्टीको कार्यकारी भूमिकामा मधेशी, मुस्लिम र थारु समुदायका अगुवाहरुलाई स्थापित गर्न जिल्ला नेतृत्व र केन्द्रबाट खटिएका नेताहरुलाई निर्देशन दिए । सो अवसरमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख अग्नि सापकोटा, पूर्व उपसभामुख पूर्णा कुमारी सुवेदी, नेतृ पम्फा भुषाल, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुल बहादुर केसी, पूर्व मन्त्री बलदेव शर्मा, महेश्वर गहतराज अथक लगायतको उपस्थिति रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार