नेपालगञ्ज : नेकपा (माओवादी केन्द्र) बाँकेका प्रमुख नेताहरूले प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर जिल्लाका समस्याबारे ध्यानाकर्षण गराएका छन् ।
माओवादी केन्द्र बाँकेका जिल्ला इन्चार्ज तथा पार्टीका स्थायी समिति सदस्य पूर्णाकुमारी सुवेदी र जिल्ला संयोजक नरेन्द्रप्रसाद पाण्डे लगायतको एक टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर जिल्लाको समस्या लगायत पार्टीको अवस्थाका बारेमा विस्तृतरूपमा जानकारी गराएका हुन् ।
बाँकेमा डुबान र बाढी लगायत अन्य विभिन्न विकास निर्माणका समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुका साथै माओवादी केन्द्रले पालिकास्तरमा अधिकांश वडा सम्मेलन सम्पन्न गरेको बारेमा उनलाई जानकारी गराइएको माओवादी केन्द्र बाँकेका इन्चार्ज सुवेदीले बताइन् ।
उनले प्रधानमन्त्री प्रचण्डले यसअघि बाँकेलाई विशेष ध्यान दिने प्रतिबद्धता जनाएकाले उनलाई जिल्लाको समग्र अवस्था र जनताको चाहनाबारे जानकारी गराइएको बताइन् ।
यसैगरी सरकारले गर्ने कामका विषयमा बाँकेलाई पनि विकास निर्माणका काममा नछुटाउन प्रधानमन्त्रीसँग विशेष अनुरोध गरिएको माओवादी केन्द्र बाँकेका संयोजक पाण्डेले बताए ।
उनले पार्टीले पछिल्लो समय चलाएको अभियानले बाँकेको ८१ वडामा पार्टीको सङ्गठन बलियो भएको, जलाधार बढेको र कार्यकर्ता एकजुट भएको रिपोर्टिङ पनि अध्यक्ष प्रचण्डलाई गरिएको बताए ।
जिल्लामा सबै तहका नेता कार्यकर्ता सक्रिय भएर सङ्गठन सुदृढ गर्न लागेपछि जिल्लामा पार्टी बलियो बन्दै गएकाले यही बेलामा सरकारले गर्ने कामहरू पनि जिल्लामा बढीभन्दा बढी हुनुपर्ने उद्देश्यसाथ प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराइएको स्थानीय नेताहरूको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार