Listen LIVE

हुम्लास्थित चीनसँगको सीमा स्तम्भ पहिरोको उच्च जोखिममा

हुम्ला : नेपाल र चीनको सिमाना हिल्सा क्षेत्रको किटमा रहेको सीमा स्तम्भ नम्बर ७ (१) पहिरोको उच्च जोखिममा रहेको पाइएको छ । सीमा स्तम्भ निर्माण गरिएको स्थान भिरालो, पहिलो जाने र सो क्षेत्रमा रहेको चट्टानमा सीमा स्तम्भ लेखिएको कारण पहिरोका उच्च जोखिम परेको हो ।

केही समय अगाडी अनुगमनमा जानु भएका प्रहरी निरीक्षक नरेन्द्र चन्दले नेपाल र चीनको सिमाना नाम्खा गाउँपालिका– ५ को हिल्साको किटको पहिरो जाने भिरालो जमिनको चट्टानमा लेखेर निर्माण गरिएको दुई देशको सिमाना छुट्टाउने सीमा स्तम्भ नम्बर ७ (१) पहिरोको उच्च जोखिममा रहेको बताए । भिरालो पहिरो गएको जमिनमा रहेको चट्टान मै सीमा स्तम्भको नम्बर लेखिएको कारण कुनै पनि बेला पहिरो तथा हिम पहिरो जाने जोखिममा रहेको उनले बताए । उक्त स्तम्भ नेपालले हेर्ने सीमा स्तम्भका रूपमा पर्छ । उनले बेलैमा यसको संरक्षण गर्न आवश्यक रहेको समेत बताए ।

दुई देशका सुरक्षाकर्मीको उपस्थितिमा सुरक्षित स्थानमा उक्त सीमा स्तम्भ निर्माण गर्नु आवश्यक देखिएको उनले बताए । उक्त सीमा स्तम्भ २०६३ सालमा चट्टानमा लेख्ने कार्य गरिएको हो । त्यसअघि भने जमिन मै सीमा स्तम्भ निर्माण गरिएको बताउँदै हिल्सामा स्थानीय कुंगा लामाले त्यति बेला पहिरोले सीमा बगाएको कारण चट्टानमा लेख्ने कार्य गरिएको बताए । यसअघि सो चट्टानमा लेखिए कै अवस्थामा पहिरोले पुरिएको थियो । पछि सुरक्षाकर्मीहरूले सीमा स्तम्भ पुरिएको स्थानको ढुङ्गाको पहिरो पन्छाएर सफा गर्नु परेको थियो ।

प्रतिक्रिया