Listen LIVE

हुम्ला सदरमुकाममा खानेपानीको समस्या

हुम्ला : जिल्ला सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाको केन्द्र सिमकोटमा खानेपानीको अभाव भएको छ । खानेपानीका धारामा पानी नआएपछि सेवाग्राहीले टाढा टाढाबाट बोकेर ल्याएको पानीबाट प्यास मेट्नु परेको छ । 

सिमकोट तल्लो बजार क्षेत्रका स्थानीय व्यापारी राजन चन्दले धारामा पानी आउन छोडेको महिना दिन भएको बताउँदै टाढाको कुवाबाट खानेपानीको व्यवस्था गर्नु परेको गुनासो गरे । तल्लो बजार क्षेत्रका अधिकांश धारामा पानी नआउने र पानी आए पनि डेढ घण्टा मात्र आउने भएकाले लाम लागेर पानी थाप्नु परिरहेको अवस्था छ । पानी थाप्ने पालोको विषयलाई लिएर झैझगडा तथा कुटाकुटसमेत भएको उनको स्मरण छ ।

पानी नआएका कारण एकातिर खानेपानीको व्यवस्था गर्न समस्या देखिएको छ भने अर्कोतिर खोलामा गएर कपडा धुनुपर्ने बाध्यता आइलागेको छ । सिमकोट गाउँपालिका वडा नं. ५ का जङ्ग रोकायाले धारामा पानी नआएका कारण ३० वर्षअगाडिको ढुङ्गेधारा प्रयोग गर्नुपर्ने अवस्था आएको बताए । 

अधिकांश महिला पिन्याराको ढुङ्गेधारामा पानी लिन जाने गरेको उनले बताए । सिमकोटकै माथिल्लो बजारकी पालाङ्मु लामाले आफ्नो टोलमा एक महिनादेखि पानी आउन छोडेका कारण टाढाको मुग्राधारामा गएर पानी ल्याउनु परेको जानकारी दिए । 

बिहान हुनेबित्तिकै पानीको व्यवस्था गर्ने चटारो सुरु हुने बताउँदै उनले घरमा एक जना पानीको व्यवस्थाका लागि छुट्टिनुपर्ने जनाए । उनले सिमकोट खानेपानी उपभोक्ता समितिले व्यवस्थितरूपमा खानेपानीको लाइन वितरण नगरेका कारण यस्तो समस्या देखिएको बताए ।

सिमकोट खानेपानी उपभोक्ता समितिका प्राविधिक रूपेन्द्र रावत पानीको स्रोत नै सुकेका कारण समस्या भएको बताउँछन् । सिमकोट गाउँपालिका ५ र ६ तथा बजार क्षेत्रका बासिन्दालाई खानेपानीको समस्या भएको उनले स्वीकार गरे । दुई वटा मुहानमध्ये एउटा हुमानेखोला र अर्को सिमखर्कको मुहानको पानीले धान्नु परेका कारण समस्या देखिएको उनले बताए । दैनिक सात लाख लिटर खानेपानीको माग भए पनि हाल दुई लाख लिटर मात्र पानी आपूर्ति हुने गरेको छ । 

अधिकांश धारामा पानी आधा घण्टा मात्र आउने र केहीमा नआउने समस्या छ । यसबाट १४ सय घरधुरीका करिब पाँच हजार जनसङ्ख्याले खानेपानीको समस्या भोग्नु परेको छ ।

प्रतिक्रिया