दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्यकर्मीहरूले उच्च मनोबलका साथ जनसेवामा समर्पित हुन आह्वान गरेका छन् ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल, लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । प्रदेश सरकारले ऐन, नीति, नियममार्फत कर्मचारीको वृत्ति विकासको ढोका खोलेको उल्लेख गर्दै सरकार कुनै पनि पेसाकर्मीलाई निरुत्साहित नगर्ने, बरु प्रोत्साहित गर्दै अघि बढ्ने बताए ।
उनले सामाजिक न्याय र पेशागत मर्यादाका लागि स्वास्थ्यकर्मीहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए । मुख्यमन्त्री आचार्यले नेतृत्वमा पुगेका व्यक्तिहरूले आफ्नो मूलभूत जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गर्दै सङ्गठनका नेता तथा कार्यकर्ताहरू पारदर्शिता र उत्कृष्टताको उदाहरण बन्नुपर्ने बताए ।
स्थानीय सेवा ऐन कार्यान्वयनका लागि नियमावली तयार पार्ने कार्य भइरहेको जानकारी गराउँदै उनले ऐनमा नमिलेका विषयहरू नियमावलीमार्फत समेटिने उल्लेख गरे । ट्रेड युनियन प्रतिनिधिहरूसँग छलफल भइरहेको बताउँदै उनले नियमावली भावना भन्दा बाहिर नजाने, बरु कर्मचारीको मनोबल उच्च बनाउन र व्यावसायिक विकासलाई अघि बढाउन टेवा पुग्ने गरी तयार गरिने बताए ।
उदघाटन कार्यक्रम राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ लुम्बिनीका अध्यक्ष चिन्तामणी ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार