नेपालगञ्ज : जेनजी आन्दोलनपछि तस्करी, अवैध आयात निर्यात र लागुऔषधविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएको जिल्ला प्रहरी कार्यालय बाँकेले तीन महिनाको अवधीमा एक करोड आठ लाख रुपियाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले सीमा नाकाबाट हुने गरेको अवैध आयात निर्यात र लागुऔषध ओसारपसारविरुद्ध अतिनै कडा रुपमा अभियाननै चलाइएको बताए ।
उनले सोही कारणले गत तीन महिनाको अवधीमा भन्सार राजस्व छलेर भारतबाट भित्र्याइएको एक करोड आठ लाख ८४ हजार ९६८ रुपियाँ बराबरको अवैध सामान प्रहरीले बरामद गरेको बताए ।
सो क्रममा प्रहरीले अवैध सामान ल्याउने २९ जना मानिस, एक जिप, १६ वटा मोटरसाइकल र २ वटा इ–रिक्सा नियन्त्रणमा लिएको प्रहरी प्रमुख जिसीले बताए ।
उनले अवैध आयात र तस्करी नियन्त्रणका लागि विशेष सुरक्षा योजना बनाएर मुख्य सीमा नाका लगायत साइड नाकाहरुमा समेत प्रहरी परिचालन गरिएको र नेपालगन्ज बजारमा समेत चेकजाँच कडा पारिएको बताए ।
प्रहरीले जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई पनि निरन्तर कारबाही गर्दै दुर्घटना न्यूनीकरण अभियान समेत सञ्चालन गरेको जनाएको छ । गत दुई महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने चार हजार ७४० वटा सावरी साधनलाई कारबाही गरी ४० लाख ४० हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
सोही अवधीमा एक लाख ६ हजार ७२५ रुपियाँ बराबरको अवैध पशुपंक्षी बरामद गरिएको, नदिजन्य पदार्थको अवैध उत्खनन् र ओसारपसार गर्नेबाट एक लाख ७० हजार रुपियाँ राजस्व सङ्कलन गरिएको प्रहरी प्रमुख जिसीले जनाए ।
यसैगरी तीन महिनाको अवधिमा जिल्लामा २१ जना फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाइएको जनाउाँदै फरार अपराधिबाट ६३ वर्ष ६ महिना ७ दिन कैद र ९६ लाख ७५ हजार ७४ रुपैयाँ राजस्व असुली भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले बताए ।
उनले लागुऔषध नियन्त्रण गर्न योजनाबद्धरुपमा लागेको प्रहरीले तीन महिनामा ३५१ ग्राम ४३० मिलीग्राम ब्राउनसुगर, १२९ ट्याब्लेट नाईट्राभेट र २२० ट्याब्लेट ट्रामाडोल बरामद गरेको तथा लागुऔषध ओसार पसार गर्ने ५७ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार