Listen LIVE

आम्दानीको स्रोत बन्दै च्याउ खेती

मुगु : मुगुको छायाँनाथ रारा नगरपालिका– ५ कार्कीवडागाउँका किसान राजकन्या कार्कीले दुई वटा टनेलमा च्याउखेती गरेका छन् । तीन वर्ष अघि च्याउखेती गर्ने तरिकाको बारेमा तालिम लिएपछि घरमै टनेल बनाएर व्यवसायिकरुपमा खेती शुरु गरेको कार्कीले बताइन् ।

‘‘शुरुमा आफूले खानका लागि मात्र लगाएको थिए, अहिले यहि च्याउ बेचेर घरपरिवार टार्ने गरेको छु,’’ उनले भनिन, ‘‘स्वदेशमा नै श्रम लगानी गरेपछि दोब्बर आम्दानी गर्न सकिने रहेछ ।’’

च्याउ फर्मबाट जिल्लाका अन्य ठाउँहरुमा पनि च्याउखेती गर्ने योजना बनाएको उनले बताइन् । उनले उत्पादन गरेको च्याउ जिल्लाको सदरमुकाम गमगढी बजारका विभिन्न ठाउँमा दैनिक दसदेखि २० केजीसम्म बिक्री हुने गरेको बताइन् । च्याउ प्रति किलो चार सय रुपैयाँमा बिक्री हुने गरेको उनी बताउँछिन् । दुईवटा टनेलबाट वार्षिक एक लाख पचास हजारदेखि दुई लाखसम्म आम्दानी गर्ने गरेको कार्कीले बताइन् ।

‘‘पछिल्लो समयमा यहाँका मानिसहरुले अहिले मासुभन्दा च्याउ बढी खोज्ने गरेका छन् । त्यसैले माग पूरा गर्न सकेको छैन ।,’’ उनले भनिन, ‘‘हिमाली जिल्लामा चिसो बढी हुने भएकाले र सानो लगानीबाट व्यवसाय सुरु गरेकाले धेरै उत्पादन गर्न नसकेको र अब विस्तारै उत्पादन बढाउँदै लैजाने योजनामा छु ।’’

उनले दुई वटा टनेलमा एक सय ३० वटा बल राखेकी छन् । च्याउखेती गर्नलाई उनका श्रीमान् र छोरीहरुले पनि सघाउने गरेका छन् । च्याउ बेचेर आएको आम्दानीले घर खर्च र बालबालिकाको पढाइ खर्च राम्ररी टरेको उनको भनाइ छ ।

यता कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख गणेश अधिकारीका अनुसार च्याउ एक बहुउपयोगी खाद्य पदार्थ हो । च्याउमा तरकारी तथा मासुमा पाइने सबै प्रकारका प्रोटिन तत्त्वहरु पाइने र सजिलैसँग पचाउन सकिने भएकाले बच्चादेखि वृद्धवृद्धाहरुका लागि अति उपयोगी छ । यसमा सबै प्रकारका एमिनो एसिड लगायत विभिन्न किसिमका प्रोटिनहरुको अतिरिक्त खनिज पदार्थ, चिल्लो पदार्थ पनि प्रशस्त मात्रामा पाइन्छ । च्याउ खाने मानिसहरू बढेसँगै यसको व्यवसाय पनि बढिरहेको छ ।

खेती गर्नलाई धेरै ठुलो ठाउँ, समय पनि नचाहिने र बेच्नलाई पनि सजिलो भएकाले यसप्रति किसानको आकर्षण बढेको हो । उनका अनुसार च्याउमा पानीको मात्रा ९० प्रतिशत पाइने हुनाले यो एकदम महत्त्वपूर्ण मानिन्छ । च्याउ क्यान्सर, मुटुरोगजस्ता रोगहरू लाग्नबाट बचाउन सकिने कार्यालय प्रमुख अधिकारीले बताए ।

प्रतिक्रिया