बर्दिया : दसैं बिदामा पर्यटकको आगमन बढेपछि पर्यटन व्यवसायीलाई भ्याइनभ्याइ छ । बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका साना–ठूला होटल पर्यटकले भरिभराउ छन् ।
कात्तिक १ देखि ६ सम्म २ हजार १ सय ३७ जनाले निकुञ्जको अवलोकन गरेका थिए । तीमध्ये पुरुष १ हजार ५ सय ८२ र महिला ८ सय ५५ जना आएको बर्दिया निकुञ्जले जनाएको छ । यसैगरी विदेशी २ सय ७४ मध्ये १ सय ३९ पुरुष र महिला १ सय ३५ जनाले निकुञ्जको अवलोकन गरेका थिए ।
कात्तिक १ गतेदेखि ६ गतेसम्म सार्कबाट ५० पुरुष र २६ महिला सहित ७६ जनाले निकुञ्जको अवलोकन गरेको बर्दिया निकुञ्जका निमित्त सूचना अधिकारी सहायक संरक्षण अधिकृत मञ्जु पौडेलले बताइन् ।
गत असोजमा भने १ हजार ७० मात्रै आन्तरिक पर्यटक भित्रिएका थिए । सोही अवधिमा सार्कबाट २ सय ४८ र विदेशी ५ सय ५५ पर्यटक आएको उनले जनाइन् ।
पर्यटक आगमन बढेपछि पर्यटन व्यवसायी निकै खुसी छन् । ठाकुरद्वारामा पर्यटकले होटल प्रायः भरिएका छन् । जिप सफारी गर्ने पनि उत्तिकै छन् । कतिपय पर्यटकले जिप सफारी बुक भएका कारण निकुञ्ज अवलोकन गर्न नपाएको गुनासो पोखे ।
पोखराबाट बर्दिया निकुञ्ज अवलोकन गर्न आएका पर्यटक अनिल न्यौपानेले जिप सफारी गर्न नपाउँदा निकुञ्ज अवलोकन गर्न नपाएको बताए ।
पर्यटन व्यवसायी रामजी थापा पर्यटकले अग्रिम बुक गरेका कारण जिप सफारीमा भ्याइनभ्याइ भएको बताउँछन् । निकुञ्जमा झन्डै ३० वटा साना–ठूला होटल छन् ।
पर्यटन व्यवसायी कृष्णप्रसाद भट्टराईले यस वर्ष दसैंमा पर्यटक आगमन बढेकाले तिहारमा पनि चहलपहल बढ्ने आशा गरेका छन् ।
मुख्यतः बाघका लागि प्रख्यात बर्दिया निकुञ्ज स्वदेशी र विदेशी पर्यटकका लागि प्रमुख गन्तव्य हो । बर्दिया निकुञ्जमा १ सय १२ वटा पाटे बाघ रहेका छन् । निकुञ्जमा १ सय २० भन्दा बढी हात्ती रहेको अनुमान छ । त्यसैगरी गैँडा ३८ वटा रहेका छन् । बर्दिया निकुञ्जमा आउने पर्यटकले जिप सफारी र पैदल अवलोकन गर्ने गरेका छन् । अधिकांश पर्यटकले पाटे बाघलगायत अन्य वन्यजन्तुको अवलोकन गरेर फर्किने गरेका छन् ।
खाता जैविक मार्गमा पर्ने डल्ला होमस्टे पनि पर्यटकको रोजाइमा पर्छ । यहाँ झन्डै २० वटा होमस्टे रहेका छन् । निकुञ्जबाहेक पर्यटकले खाता जैविक मार्गका डल्ला, पत्थरबोझीलगायत ठाउँको अवलोकन गर्ने गरेको निकुञ्जले जनाएको छ । यसबाहेक यहाँ आउने पर्यटकले निकुञ्ज हाताभित्र रहेको गोही तथा घडियाल प्रजनन केन्द्र, थारू संग्रहालय, दृष्टिविहीन गैँडा र समस्याग्रस्त बाघ थुनिएको खोरको बाहिरबाट अवलोकन गर्ने गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार