Listen LIVE

अध्यक्ष प्रचण्डद्वारा नेपालगञ्ज आइसिपीको अवलोकन

नेपालगञ्ज : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगन्जस्थित एकीकृत जाँच चौकी (आइसिपी)को अवलोकन गरेका छन् । अध्यक्ष प्रचण्डले सोमबार बिहान नेपाल भारत सिमास्थित एकीकृत जाँच चौकी (आइसिपी)को अवलोकन गरेका हुन् ।

जाँच चौकी अवलोकनका क्रममा भन्सार कार्यालय नेपालगञ्जका निमित्त प्रमुख भन्सार अधिकृत एवम् सूचना अधिकारी पूर्ण लम्सालले जाँच चौकीको अवस्थाका बारेमा अध्यक्ष प्रचण्डसमक्ष जानकारी गराएका थिए ।

निमित्त भन्सार प्रमुख लम्सालले एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि पहिला र अहिलेको अवस्थामा धेरै परिवर्तन आएको भन्दै मालसामान भण्डारण गर्नका लागि व्यस्थित गोदामलगायतका संरचनाले सामानको सुरक्षा तथा छिटो छरितो काम गर्ने वातावरण बनेको जानकारी गराए ।

उनले आइसिपी सञ्चालन हुनुपुुर्व भन्सार कार्यालयमार्फत् सामान आयातमा एक हप्तासम्म व्यापारीको सामानहरु भण्डारण गरेर राख्नमा शुल्क नलाग्ने गरेको र आइसिपी सञ्चालन भइसकेपछि पछिल्लो समयमा दैनिकरुपमा भण्डारण वापतको शुल्क उद्योगी व्यापारीले इन्टरमोडल विकास समिति अन्तर्गतको ठेकेदार कम्पनीलाई बुझाउनुपर्ने व्यवस्था भएपछि विस्तारै केही उद्योगी व्यापारीहरुले यो नाकालाई छाडेर अन्य नाकाबाट सामान आयात गर्न लागेकोप्रति चिन्ता व्यक्त गर्दै प्रचण्डसमक्ष यो समस्या सुल्झाउनका लागि आग्रह गरे ।

ठूला उद्योगीहरुले पछिल्लो समयमा आइसिपी सञ्चालन नभएका नजिकका कृष्णनगर र धनगढीस्थित भन्सारबाट सामान आयात गर्न लागेको उहाँले जानकारी गराए । उनले भन्सार कार्यालयमार्फत् मालसामान आयात गर्दा एकहप्तासम्म शुल्क नलाग्ने व्यवस्था रहेको र आइसिपी सञ्चालन भएपछि ठेकेदार कम्पनीमार्फत् यस्तो शुल्क लाग्ने व्यवस्था रहेको जानकारी गराए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले एकीकृत जाँच चौकी नेपालगञ्जको नयाँ संरचनाको उदघाटन गर्ने अवसर मिलेको स्मरण गर्दै आज अवलोकन गर्ने अवसर जुरेको बताए । उनले यो चौकीबाट मालसामान आयात निर्यातको अवस्थाका बारेमा जानकारी पाएको बताए । एकीकृत जाँच चौकी सबै ठाउँमा हुनुपर्ने नीतिगत रुपमा आफू क्लीएर भएको बताउँदै उनले सबै ठाउँमा आइसिपी सञ्चालन भएमा समान व्यवस्था हुने र कुनै समस्या नआउने बताए ।

नयाँ बनेर सञ्चालनमा आएका कारण सञ्चालनका क्रममा आएका अलिकति झन्झट र समस्याका बारेमा राजनीतिक लेवलमा कुरा राखेर छलफल गरिने उनले बताए । नेपाल–भारत सिमास्थित नेपालगञ्ज एकीकृत जाँच चौकी (आइसिपी)को गत वर्ष जेठ १८ गते उदघाटन भएको थियो ।

प्रतिक्रिया