Listen LIVE

रास्वपाबाट बाँकेमा सुनारसहित थारु र श्रेष्ठको मनोनयन दर्ता

नेपालगञ्ज : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको छ । उक्त पार्टीले बाँकेमा चर्चित दलित अभियन्ता खगेन्द्र सुनारसहितका उम्मेदवार टुङ्गो लगाएको हो ।

पार्टीले क्षेत्र नम्बर १ मा सुरेश थारु, क्षेत्र नम्बर २ मा विवेक श्रेष्ठ र क्षेत्र नम्बर ३ मा खगेन्द्र सुनारलाई उम्मेदवार बनाउने निर्णय गरेको रास्वपाका नेता डा. राजकुमार सुवेदीले बताए ।

‘‘पार्टीले क्षेत्र नम्बर १, २ र ३ मा उम्मेदवार टुङ्गो लगाइसकेको छ, आज सबै उम्मेदवारको मनोनयन दर्ता भइसकेको छ,’’ सुवेदीले भने ।

पार्टीबाट टिकट पाएका तीनै जनाले मङ्गलबार बाँकेस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर १ बाट टिकट पाएका थारु यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उक्त क्षेत्रबाट नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बने पनि पराजित भएका थिए ।

यस्तै, श्रेष्ठ नेपालगञ्जमा व्यवसायसँगै रास्वपाको राजनीतिमा छिरेका युवा हुन् । यसैगरी, चर्चित दलित अभियन्ता हुँदै राजनीतिमा लागेका सुनार केही दिनअघि मात्र रास्वपामा प्रवेश गरेका थिए ।

दलितका मुद्दामा उत्तेजनात्मक भाषण गरेर उनी चर्चामा आएका हुन् । जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारमा मन्त्री बन्ने निश्चित् भए पनि केही कानुनी अडचनका कारण अन्तिम समयमा उनको शपथग्रहण रोकिएको थियो ।

प्रतिक्रिया