काठमाण्डौ : शनिबार बिहानसम्म पूर्वी युक्रेनमा रातभर गरिएको रूसी आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको देशको आपत्कालीन सेवाले जनाएको छ। यो घटना साउदी अरेबियामा अमेरिका र युक्रेनी वार्ताकारहरूबीच युद्धविरामका लागि हुने वार्ताको केही दिन अगाडि भएको हो।
युक्रेनको दोनेत्स्क क्षेत्रको दोब्रोपिलियाको केन्द्रमा शुक्रबार राति भएको रूसी आक्रमणमा ११ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको आपत्कालीन सेवाले जनाएको छ।
खार्किभ क्षेत्रका सैन्य प्रमुख ओलेग सिनेगुबोभले शनिबार बिहान बोगोदुखिभ सहरमा भएको ड्रोन हमलामा एकजनाको मृत्यु भएको र अन्य सातजना घाइते भएको बताए।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रूसमाथि नयाँ प्रतिबन्ध र शुल्क लगाउने धम्की दिएका वेला रातभर हवाई आक्रमण भएको हो।
अमेरिकी राष्ट्रपतिले शुक्रबार पत्रकारहरूलाई भने, ‘उहाँ रूसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि विश्वास गर्नुहुन्छ। मलाई वास्तवमै युक्रेनसँग सम्झौता गर्न गाह्रो लाग्छ र उनीहरूसँग कुनै विकल्प छैन। रूससँग सम्झौता गर्न सजिलो हुन सक्छ।’
साथै पत्रकारहरूलाई मन्तव्य दिएको केही समयपछि राष्ट्रपति ट्रम्पले शुक्रबार युक्रेनमा बमबारी गरेकोमा रूसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने धम्की दिएका छन्।
‘रूसले अहिले युद्धभूमिमा युक्रेनलाई पूर्ण रूपमा आक्रमण गरिरहेको छ। म युद्धविराम र शान्ति सम्झौतामा पुग्न नसकेसम्म रूसमाथि ठूलो मात्रामा बैंकिङ प्रतिबन्ध, नाकाबन्दी लगाउने बारेमा दृढतापूर्वक विचार गरिरहेको छु’, ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लाटफर्ममा उल्लेख गरेका छन्।
‘रूस र युक्रेन, अब वार्ताको टेबलमा आउनुहोस्’, उनले लेखेका छन्।
ट्रम्पको धम्की यस्तो समयमा आएको हो, जब रूसले शुक्रबार युक्रेनको ऊर्जा पूर्वाधारमा ठूलो ड्रोन र मिसाइल आक्रमण गरेको थियो। केही दिनअघि राष्ट्रपति भोलोदिडिमिर जेलेन्स्कीसँगको विवादपछि ट्रम्प प्रशासनले युक्रेनसँग अमेरिकी सैन्य सहायता वितरण र गुप्तचर आदान प्रदानमा रोक लगाएको थियो।
नेशनल इकोनोमिक काउन्सिलका निर्देशक केभिन ह्यासेटले ट्रम्पको धम्की कूटनीतिक रणनीतिको हिस्सा भएको बताए। ‘राष्ट्रपति ट्रम्प अडिग छन् कि हामीले सबैलाई टेबुलमा ल्याउनुपर्छ। उनले सबैसँग कुरा गर्दै हुनुहुन्छ’, ह्यासेटले पत्रकारहरूलाई बताए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार