दाङ : दाङका दुई स्थानीय तहका उपाध्यक्षले परम्परागत ढकियामा बजेट पुस्तक बोकेर गाउँसभामा प्रवेश गरेपछि उपस्थित जनप्रतिनिधि र कर्मचारीको ध्यान उनीहरूतर्फ केन्द्रित भएको थियो ।
राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी र गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरी स्थानीय मौलिक पहिरन तथा परम्परागत गहनामा सजिएर टाउकोमा थारु समुदायको पहिचान बोकेको ढकियामा बजेट पुस्तक राखी गाउँसभामा प्रवेश गरेकी थिइन् ।
अघिल्ला वर्षहरूमा झोलामा रिबन बाँधेर बजेट पुस्तक ल्याउने चलन रहे पनि यस वर्ष उनीहरूले फरक शैली अपनाएका हुन् । स्थानीय हस्तकला तथा मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा टेवा पुगोस् भन्ने उद्देश्यले ढकियामा बजेट पुस्तक ल्याइएको राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले बताइन् ।
'ढकिया विशेष समारोहमा प्रयोग गरिने सामग्री हो,' उनले भनिन, 'हामी दुई पालिकाका उपाध्यक्षबिचको सल्लाहअनुसार यसपटक ढकियामा बजेट पुस्तक ल्याएका हौँ । यसबाट स्थानीय हस्तकलाको प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास गरेका छौँ ।'
उनले आर्थिक वर्ष २०८३/८४ का लागि राप्ती गाउँपालिकाको ७५ करोड ४ लाख ९६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको बताइन् । शिक्षा, स्वास्थ्य, पूर्वाधार, सिँचाइ तथा युवा उद्यमशीलता कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको उनको भनाइ छ ।
त्यसैगरी, गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरीले आर्थिक वर्ष २०८३/८४ का लागि ८२ करोड ६४ लाख रुपैयाँको बजेट प्रस्तुत गरिन् । कृषि उत्पादनको भण्डारण, शीतभण्डार, पशुपालन, सिँचाइ तथा युवा उद्यमशीलता कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको उनले बताइन् ।
परम्परागत ढकियामा बजेट पुस्तक बोकेर गाउँसभामा प्रवेश गर्ने शैलीले स्थानीय संस्कृति र हस्तकलाप्रति सम्मान व्यक्त गर्नुका साथै यसको प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार