Listen LIVE

नौबस्ता कारागारमा झडप हुँदा सात जना घाइते

नेपालगञ्ज : बाँकेको नौबस्तामा रहेको क्षेत्रीय कारागारमा झडप भएको छ । बी–ब्लकमा रहेका कैदीबन्दीबीच भएको झडपमा ७ जना घाइते भएका छन् ।

कारागारको आन्तरिक प्रशासन व्यवस्थापनका लागि नियुक्ति गर्ने नाइके र चौकीदारका विषयमा कारागारमा पटक–पटक झडप भइरहेको छ । नाइके र चौकीदार नियुक्ति गर्ने समय नजिक आइरहँदा आन्तरिक शक्ति संघर्ष बढेको छ ।

कैदीबन्दीबीच झडप हुँदा नाइके धर्मराज बुढासहित ७ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनालाई भेरी अस्पताल र ४ जनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ । झडपपछि कारागारबाट ४० जनालाई अन्यत्र सारिएको छ ।

बाँके प्रहरी प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले घाइतेहरु उपचारपछि फर्किएको र कारागारको सुरक्षा अवस्था सामान्य रहेको जानकारी दिए ।

केही दिनअघि पनि बी–ब्लकमा झडप भएको थियो । आफू या आफ्नो पक्षकोलाई नाइके र चौकीदार बनाउन लागिपर्दा झडप हुने गरेको छ ।

प्रतिक्रिया