नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले ‘लागूऔषध दुर्व्यसनी तथा ओसारपसारविरुद्धको एकीकृत अभियान २०८१’ सञ्चालनमा ल्याएको छ । प्रहरीले नेपालगञ्ज उपमहानगरपालिकाको साझेदारीमा यो अभियान सञ्चालनमा ल्याएको हो ।
अभियानअन्तर्गत प्रहरीले केही दिन अगाडि मात्र नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र रहेका जमुनाहा नाकादेखि राँझासम्मका सार्वजनिक स्थान तथा सेवाग्राहीको बढी भिडभाड हुने सरकारी कार्यालयहरूमा लागूऔषधसम्बन्धी २० देखि २५ वटा सचेतनामूलक होडिङ वोर्डहरु जडान गरेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
प्रनाउ डाँगीका अनुसार अभियानअन्तर्गत नेपालगञ्जका सार्वजनिक स्थान तथा चोकहरूमा नगरस्तरीय बाल क्लब सञ्जालद्वारा लागूऔषध दुर्व्यसनीसम्बन्धी विभिन्न सडक नाटकहरूसमेत प्रदर्शन गरेको छ । त्यसैगरी लागूऔषध दुर्व्यसनविरुद्ध विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । सुधारोन्मुख लागूऔषध प्रयोगकर्ताबिच मैत्रीपूर्ण फुटसल प्रतियोगितासमेत सम्पन्न गरिएको छ ।
लागूऔषध दुर्व्यसनीसम्बन्धी सचेतनामूलक रेडियो जिङ्गलहरु तयार गरी स्थानीय एफएम रेडियोहरूबाट प्रसारण गरिएको तथा पर्चा, पम्प्लेटिङलगायतका माइकिङ गर्ने कार्य पनि निरन्तर जारी रहेको उनले जानकारी दिए ।
बाँके प्रहरीले लागूऔषध दुर्व्यसनी तथा ओसारपसारविरुद्धको एकीकृत अभियान २०८१ अभियान सफल पार्नका लागि नेपालगञ्ज उपमहानगरपालिकासँग सहकार्य रहने गरी सम्झौता गरेको थियो । अभियान सञ्चालन गर्नका लागि जेठ २ देखि असार १५ गतेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिकाको सहयोग र सहकार्य रहने गरी दुई पक्षबिच सम्झौतापत्रमा हस्ताक्षरसमेत गरिएको थियो ।
बाँके प्रहरीका अनुसार लागूऔषध ओसारपसारको सङ्गठित जालोलाई तोडेर कानुनी कारबाहीमा तीव्रता दिने, लागूऔषध दुर्व्यसनी पीडितलाई समाजमा पुनर्स्थापना गर्ने, लागूऔषधविरुद्ध सरोकारवाला निकायहरूबिच सहकार्य गरी अगाडि बढ्ने, समुदाय प्रहरी साझेदारीलाई प्रवर्द्धन गरी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नेलगायतका एकीकृत अभियानको उद्देश्य रहेको छ ।
सम्झौतापत्रमा लागूऔषध ओसारपसारको सङ्गठित जालोलाई तोडेर कानुनी कारबाहीलाई तीव्रता दिने, फार्मेसी तथा औषधि पसलहरूको अनुगमन तथा कारबाही गर्ने, दुर्व्यसनी जोखिम स्थान र व्यक्तिहरूको पहिचान÷अभिलेख अद्यावधिक गर्ने, लागूपदार्थ सेवन (लापसे) चेकजाँच किटको व्यवस्थापन गरी प्रभावकारी चेकजाँचको व्यवस्था मिलाउने तथा सीमा नाका तथा शङ्कित स्थानहरूमा सुघ्ने कुकुर परिचालन गरिने उल्लेख गरिएको छ ।
सम्झौताको समय अवधि समाप्त भएपश्चात् अभियानको समीक्षा तथा प्रतिवेदन सार्वजनिक गरिने बाँके प्रहरीले जनाएको छ ।