नेपालगञ्ज : बाँकेमा कडा सुरक्षा व्यवस्थाबिच शान्ति र सदभावका साथ दुर्गा भवानीको मूर्ति विसर्जन गरिएको छ ।
घटस्थापनाको दिन नेपालगञ्जको विभिन्न चोक तथा गल्लीमा स्थापना गरिएका दुर्गा भवानीका मूर्तिहरुलाई बिहीबार दिउँसोदेखि बेलुकासम्म राप्ती नदीस्थित सिधनिया घाटमा विसर्जन गरिएको हो । दिउँसोदेखि सुरु भएको विसर्जन कार्यक्रम बेलुकी अबेरसम्म जारी रहेको थियो ।
दुर्गा मूर्ति विसर्जनको क्रममा निकालिएको ¥यालीलाई व्यवस्थित र सुरक्षित बनाउन बाँके प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो । सुरक्षा कडाइका लागि ड्रोनबाट निगरानी गर्नुका साथै संवेदनशील क्षेत्र, घरको छत तथा सडकका विभिन्न स्थानबाट समेत सुरक्षाकर्मी खटाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले बताए ।
उनका अनुसार मूर्ति विसर्जन ¥यालीको सुरक्षाका लागि एक हजार १०० भन्दा बढी प्रहरी परिचालन गरिएका थिए । त्यसैगरी, सशस्त्र प्रहरी बलका ३५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका थिए ।
संवेदनशील क्षेत्रको पहिचान गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको र सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको प्रहरी प्रमुख जिसीले बताए । 'सबैको साथ र सहयोगले दुर्गा मूर्ति विसर्जन कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । सहयोग गर्ने सबैलाई धन्यवाद छ' जिसीले भने ।
नेपालगञ्ज उपमहानगरपालिका र सो वरिपरिका क्षेत्रमा राखिएका करिब ४०० मूर्तिलाई राप्ती नदीमा लगेर बिसर्जन गरिएको नेपालगञ्जको अगुवा नन्दलाल वैश्यले बताए । उनले सबैको सहयोग र सदभावका कारण बिसर्जन कार्य भव्य रुपमा सम्पन्न भएको जनाए ।
मूर्ति विसर्जन कार्यक्रमको सुरक्षा व्यवस्थाको अवलोकन गर्न बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, प्रहरी प्रमुख जिसी, सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वार्टर बागेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दलगायत सुरक्षा निकायका प्रमुखहरूले नेपालगञ्जदेखि सिधनिया घाटसम्म पुगेर स्थलगत अवलोकन गरेका थिए ।
स्थानीय मुस्लिम अगुवा मेराज अहमद हिमालयका अनुसार मुस्लिम, सिख, इसाइलगायत विभिन्न धर्ममा आस्था राख्ने समुदायका अगुवा तथा सर्वसाधारणले सडक किनारमा उपस्थित भएर बिसर्जन ¥यालीको स्वागत गरेका थिए ।
विभिन्न धर्म र समुदायका व्यक्तिले एकअर्काको धार्मिक आस्थाको सम्मान गर्दै देखाएको सहकार्यले नेपालगञ्जको धार्मिक सद्भाव र सामाजिक एकताको सन्देश दिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार