Listen LIVE

हसिनाका छोरा भन्छन् : आमा अझै केही समय भारतमै बस्नुहुन्छ

काठमाण्डौ : बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेकी शेख हसिनाले भारतबाट कहाँ जाने भन्नेबारे अझै निर्णय गरिनसकेको उनका छोराले बताएका छन्।

हसिनाका छोरा सजिव वाजेदले जर्मनीको एक संचारमाध्यमलाई अन्तर्वार्ता दिँदै उनी अझै केही दिन दिल्लीमै रहने बताएका हुन्।

वेलायतमा शरण लिन जान लागेको बारेमा सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘यी सबै हल्लाहरु हुन्। आमाले अहिलेसम्म कहाँ जाने कुनै निर्णय गर्नुभएको छैन । उहाँ अझै केही समय दिल्लीमै रहनुहुनेछ। मेरो बहिनी उहाँसँगै छिन् त्यसैले उहाँ एक्लो हुनुहुन्न।’

अन्तिम समयसम्म हसिनाले बंगलादेश छाड्न नचाहेको पनि उनले उल्लेख गरेका छन् ।

‘उहाँले बंगलादेश छाड्न मान्नुभएको थिएन, मैले मनाउनुप¥यो’ वाजेदले अन्तर्वार्तामा भनेका छन्, ‘जब मैले यो राजनीतिक आन्दोलन होइन। यो भीड हो उनीहरुले तपाईंलाई मार्छन् भनेपछि मात्र उहाँ बाहिरिन राजी हुनुभएको हो।’

पहिला नै किन राजीनामा नदिएको? भन्ने प्रश्नमा वाजेदले सत्ता हस्तान्तरणका लागि पूर्वतयारीमा समय लागेको बताएका छन् । हसिना बाहिरिसकेपछि अहिले अवामी लिगका कार्यकर्ताहरू जोखिममा परेका र उनीहरूमाथि धरपकड र आक्रमण सुरु भएको उनको भनाइ छ । 

उनले विदेशमा बसे पनि १५ वर्षदेखि डिजिटल बंगलादेश बनाउनका लागि मिहिनेत गरेको बताए। 

अहिले बंगलादेशमा राष्ट्रपतिले संसद भंग गरी नोबेल पुरस्कार बिजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख तोकेका छन् । अब गठन हुने अन्तरिम सरकारले निर्वाचन गराउनेछ ।

प्रतिक्रिया