नेपालगञ्ज : नेपालगञ्ज नाकाबाट एक वर्षमा ३७ लाख किलोभन्दा बढी जडीबुटी निर्यात भएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा यस नाकाबाट ८४ करोड २६ लाख ७४ हजार रुपैयाँ बराबरको ३७ लाख ३ हजार ८ सय ६१ किलो विभिन्न प्रकारका जडीबुटी निर्यात भएको हो।
नेपालगञ्ज भन्सार कार्यालयका अनुसार जडीबुटी निर्यातको यो परिमाण अघिल्लो वर्षको तुलनामा बढेको हो। नेपालगञ्ज नाका मुलुककै सबैभन्दा बढी जडीबुटी निर्यात हुने नाकाका रूपमा रहेको भन्सार कार्यालयले जनाएको छ।
नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले पछिल्ला केही वर्षयता जडीबुटीको निर्यात पुनः बढ्दै गएको बताए। निर्यात बढेसँगै पश्चिम नेपालका जडीबुटी उत्पादक किसान, सङ्कलक र व्यवसायी उत्साहित भएको उनले बताए।
आर्थिक वर्ष २०८१/८२ मा नेपालगञ्ज नाकाबाट ८३ करोड ६४ लाख ७० हजार रुपैयाँ बराबरको जडीबुटी निर्यात भएको थियो। त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा ७९ करोड ४८ लाख ८२ हजार रुपैयाँ बराबरको जडीबुटी निर्यात भएको नेपालगञ्ज भन्सार कार्यालयको तथ्यांक छ।
नेपाल जडीबुटी व्यवसायी संघका अनुसार जडीबुटी निकासी प्रक्रिया सहज हुँदै गएपछि नेपालगञ्ज नाकाबाट यसको निर्यात क्रमशः बढेको हो। संघका अध्यक्ष टंकप्रसाद शर्माले कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा उत्पादन तथा सङ्कलन हुने जडीबुटीको भण्डारण र विदेश निर्यातका लागि नेपालगञ्ज प्रमुख ट्रान्जिटका रूपमा रहेको बताए।
नेपालगञ्ज नाकाबाट टिम्मुर, रिठा र काउलो सबैभन्दा बढी निर्यात हुने गरेको शर्माले बताए। औषधि, साबुन, स्याम्पुलगायतका सामग्री उत्पादनमा प्रयोग हुने यी जडीबुटी भारतसँगै जर्मनी, बंगलादेशलगायत तेस्रो मुलुकमा समेत पुग्ने गरेका छन्।
कर्णाली प्रदेशका पहाडी जिल्लामा पाइने टिम्मुर, काउलो र रिठा स्थानीय व्यवसायीले खरिद गरी नेपालगञ्ज ल्याउने र यही नाकाबाट विदेश निर्यात गर्ने गरेका छन्। नेपालगञ्ज नाका पश्चिम नेपालका पहाडी जिल्लामा सङ्कलन हुने जडीबुटीलाई भारतीय तथा तेस्रो मुलुकको बजारसम्म पु¥याउने प्रमुख माध्यम बनेको व्यवसायीहरू बताउँछन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार