Listen LIVE

सहजरुपमा मल उपलब्ध गराउन कोहलपुर (रास्वपा)को माग

कोहलपुर (बाँके) : कोहलपुर नगर क्षेत्रमा खेतीपातीको समयमा कृषकले सहज रूपमा रासायनिक मल नपाउने समस्या दोहोरिँदै आएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोहलपुर नगर समितिले मल वितरण प्रणालीलाई व्यवस्थित बनाउन माग गरेको छ।

रास्वपा कोहलपुर नगर सभापति राजेन्द्र कुमार श्रेष्ठले कोहलपुर नगर प्रमुख पूर्ण प्रसाद आचार्यलाई पत्र बुझाऊदै आधिकारिक रूपमा मल बिक्री गर्ने सहकारी संस्थाहरूको अव्यवस्थित वितरण प्रक्रियाका कारण कृषकले थप सास्ती खेप्नुपरेको जनगुनासो रहेको उल्लेख गरेका छन्।

पत्रमा कोहलपुर नगरभित्र आधिकारिकता प्राप्त सहकारी संस्थाहरूको कार्यक्षेत्र स्पष्ट रूपमा विभाजन गरी तोकिएको क्षेत्रअनुसार मल वितरण गर्न निर्देशन दिन तथा त्यसको कडाइका साथ कार्यान्वयन गराउन पहल गर्न आग्रह गरिएको छ।

कोहलपुर वडा नम्बर ७ का कृषकलाई मल वितरणका लागि वडा नम्बर १४ पायक पर्ने भएकाले सोहीअनुसार कार्यक्षेत्र तोकी व्यवस्थित रूपमा मल वितरणको व्यवस्था मिलाउन माग गरिएको छ।

त्यस्तै, कोहलपुर नगर क्षेत्रमा अव्यवस्थित रूपमा सञ्चालन भइरहेका अटोका कारण दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै अटो व्यवस्थापनमा पनि ध्यान दिन आग्रह गरिएको छ। अटो चालकमा बिमा, सवारी चालक अनुमतिपत्र तथा ट्राफिक नियमसम्बन्धी पर्याप्त ज्ञानको अभाव हुन सक्ने उल्लेख गर्दै दर्ता भएको कार्यक्षेत्रअनुसार अटो सञ्चालन तथा व्यवस्थापन गर्न माग गरिएको छ।

साथै अटो चालकका लागि सडक साक्षरता तथा ट्राफिक नियमसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायसँग पहल गर्न पनि अनुरोध गरिएको छ।

यसैबीच, रास्वपाले श्रावण १३ गते साँझ साझा सहकारी संस्था लिमिटेड, कोहलपुरले ९२ बोरा मल वितरण गरेको विषयमा पनि छानबिनको माग गरेको छ। पत्रअनुसार केही व्यक्तिलाई प्रतिव्यक्ति ६ बोरासम्म मल वितरण गरिएको तथा ४० बोरा मल लुकाएर राखिएको भन्ने विषयमा प्रश्न उठाइएको छ।

उक्त घटनासम्बन्धी यथार्थ सार्वजनिक गर्न सहकारीका जिम्मेवार कार्यसमिति सदस्य तथा कर्मचारीसँग स्पष्टीकरण माग गरी आवश्यक विवरण सार्वजनिक गर्न रास्वपाले अनुरोध गरेको छ।

प्रतिक्रिया