Listen LIVE

रेसुङ्गालाई पर्यटकसँग जोड्न प्रदेशस्तरबाट लागेका छौं : मन्त्री कार्की

गुल्मी : लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले रेसुङ्गालाई पर्यटकसँग जोड्न प्रदेशस्तरबाट लागिएको बताएका छन् । रेसुङ्गा नगरपालिकाको १२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुल्मीको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्र रेसुङ्गाको प्रवद्र्धनका लागि लुम्बिनी प्रदेश सरकार लागेको बताए ।

मन्त्री कार्कीले समुन्नतिको विशेष आधार पर्यटन भएको भन्दै रेसुङ्गामा अत्यधिक मात्रामा पर्यटक आउँदा सिङ्गो लुम्बिनी प्रदेशलाई फाइदा हुने बताए । विदेशी पर्यटकहरु विशेषगरी धार्मिक पर्यटकहरु रेसुङ्गामा आउने हुँदा पर्यटकहरुको सहजताका लागि लुम्बिनी प्रदेश सरकार लागेको उनले बताए । रेसुङ्गा र भारतको अयोध्याबीच विशेष सम्बन्ध रहेको हुँदा भारतीय पर्यटकलाई रेसुङ्गामा ल्याउने गरी लागिएको उनको भनाइ छ ।

रेसुङ्गा र भारतको अयोध्याबिचको सम्बन्धको प्रचारप्रसारसँगै रेसुङ्गाको इतिहासको बारेमा सबैलाई जानकारी गराउन आवश्यक रहेको बताए । लुम्बिनी प्रदेशका जुनसुकै पर्यटकीय स्थलमा आउने पर्यटकलाई रेसुङ्गामा ल्याउन आवश्यक रहेको भन्दै उनले पर्यटकहरुका लागि व्यवस्थित होटलको आवश्यक हुँदा यसबारे स्थानीय सरकार र निजी क्षेत्रले विशेष ध्यान दिनुपर्ने बताए ।

पर्यटन क्षेत्रको विकासमा प्रदेश सरकार लागेको हुँदा रेसुङ्गामा पर्यटक ल्याउन सबै क्षेत्रबाट लाग्नुपर्ने उनले बताए । रेसुङ्गा नगरपालिकाले रेसुङ्गामा पर्यटन प्रवद्र्धनका लागि ‘जाऔँ हिँड रेसुङ्गा’ अभियान सञ्चालन गरेको छ । मन्त्री कार्कीले अहिलेको व्यवस्थाका कारण हरेक क्षेत्रमा विकास भएको बताए । वर्तमान व्यवस्थाको विकल्प अरु केही हुन नसक्ने बताए ।

जनता आफैंले पनि सकारात्मक कर्म गर्न आवश्यक रहेको भन्दै उनले विदेश पलायनलाई रोक्न तिनै तहका सरकारले विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताए । लुम्बिनी प्रदेश सरकारले उत्पादनमुखी कार्यक्रमलाई जोड दिएको उनको भनाइ छ ।

प्रतिक्रिया