Listen LIVE

रास्वपा उम्मेदवार खगेन्द्रलाई तीन वर्षको कैद माग

दाङ : लुम्बिनी प्रदेश सभाकी सदस्य अम्बिका काफ्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनारलाई कानुनअनुसार तीन वर्ष कैद हुनुपर्ने माग गरेकी छन् ।

लुम्बिनी प्रदेश सभाको बैठकमा बोल्दै सांसद काफ्लेले खगेन्द्र सुनारले ’गाईको मासु खान पाउनुपर्ने’ अभिव्यक्ति दिएको भन्दै त्यसले सामाजिक तथा धार्मिक सद्भावमा असर पार्ने बताएकी छन् ।

सांसद काफ्लेले संविधानको धारा ४ मा धर्मनिरपेक्षता स्पष्ट रूपमा भए पनि गाईगोरुको मासु खान पाउने विषय उठाइनु आपत्तिजनक भएको बताइन् ।

उनले भनेकी छन्, ‘सामाजिक र धार्मिक सद्भाव खलबलिने किसिमका अभिव्यक्ति कसैले पनि दिन पाइँदैन । चाहे जुनसुकै दलको व्यक्ति भए पनि कानुन सबैका लागि समान हुन्छ ।’

उनले मुलुकी अपराध संहिताले गाईगोरु मार्न तथा मासु खान निषेध गरेको उल्लेख गर्दै त्यसका लागि तीन वर्षसम्म कैद सजायको व्यवस्था रहेको बताएकी छन् ।

‘सनातन धर्मावलम्बीहरूले पुज्ने गाईगोरुमाथि यस्तो धारणा सार्वजनिक हुनु दुर्भाग्यपूर्ण हो,’ सांसद काफ्लेले भनेकी छन् ।

प्रतिक्रिया