जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले घरभित्रको धुवाँबाट हुने स्वास्थ्य जोखिम न्यूनीकरणसँगै दाउराको खपत घटाउने उद्देश्यले सुधारिएको धुवाँरहित चुलो वितरण अभियान सुरु गरेको छ । हरित जलवायु कोष, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, जानकी गाउँपालिका बाँके र उपभोक्ताको लागत साझेदारीमा सुधारिएको चुलो वितरण गरिएको हो ।
कार्यक्रमअन्तर्गत पहिलो चरणमा गाउँपालिकाका वडा नम्बर २ र ३ का २ सय ९० घरपरिवारलाई सुधारिएको चुलो वितरण गरिएको छ । गाउँपालिकाले आगामी दिनमा थप घरधुरीमा चुलो पु¥याउँदै ७ सय ६७ घरपरिवारलाई सुधारिएको चुलो वितरण गर्ने लक्ष्य लिएको जनाएको छ ।
सुधारिएको चुलो वितरण कार्यक्रमका लागि गाउँपालिकाले ६ लाख ९० हजार ३ सय रुपैयाँ बजेट विनियोजन गरेको छ भने ३६ लाख ८१ हजार ६ सय रुपैयाँ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको साझेदारी रहेको छ । कार्यक्रमको कुल लागतमा हरित जलवायु कोषको ४० प्रतिशत, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ४० प्रतिशत, जानकी गाउँपालिकाको १५ प्रतिशत र उपभोक्ताको ५ प्रतिशत लागत साझेदारी रहेको गाउँपालिकाले जनाएको छ ।
परम्परागत चुलोबाट निस्कने धुवाँका कारण विशेषगरी गृहिणी तथा परिवारका अन्य सदस्यमा स्वास्थ्यसम्बन्धी समस्या देखिने गरेको अवस्थामा सुधारिएको चुलोको प्रयोगले घरभित्रको वायु प्रदूषण कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, कम दाउरामा खाना पकाउन सकिने भएकाले दाउरा सङ्कलनमा लाग्ने समय, श्रम तथा खर्चसमेत घट्ने गाउँपालिकाको जनाएको छ ।
गाउँपालिका अध्यक्ष छब्बन खाँले नागरिकको स्वास्थ्य संरक्षणका लागि सुधारिएको चुलोको प्रयोगलाई प्राथमिकतामा राखिएको बताए । उनका अनुसार सुधारिएको चुलोले दाउराको खपत घटाउनुका साथै चुलोको कार्यदक्षता बढाउने र भान्साभित्रको धुवाँ नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्छ ।
'सुधारिएको चुलोको प्रयोगले धुवाँमा रहेका हानिकारक कण तथा ग्यासको मात्रा धेरै हदसम्म घटाउन सहयोग गर्छ । यसबाट दम, खोकी, निमोनिया, श्वासप्रश्वास तथा फोक्सोसम्बन्धी समस्या, आँखा चिलाउने र टाउको दुख्नेजस्ता समस्याको जोखिम कम गर्न मद्दत पुग्छ,' अध्यक्ष खाँले भने ।
उनले गाउँपालिकाका सबै सम्भावित घरधुरीमा सुधारिएको चुलो पु¥याउने लक्ष्यसहित कार्यक्रमलाई क्रमशः विस्तार गरिने बताए । स्वच्छ ऊर्जा प्रवद्र्धन, वातावरण संरक्षण र नागरिकको स्वास्थ्य सुधारलाई जोड दिँदै कार्यक्रम अघि बढाइएको उनको भनाइ छ ।
सुधारिएको चुलो पाएपछि स्थानीय गृहिणीसमेत उत्साहित भएका छन् । स्थानीय नुरबानो खाँले नयाँ चुलो प्रयोग गर्न थालेपछि भान्साको काम निकै सहज भएको बताइन् ।
यसअघि भान्सा गर्न निकै समस्या हुन्थ्यो । अहिले सहज भएको छ । थोरै दाउरामा छिट्टै खाना पाक्ने भएकाले समय र दाउरा दुवैको बचत भएको छ,' उनले भनिन् ।
सुधारिएको चुलोका कारण भान्साकोठा सफा र व्यवस्थित हुनुका साथै धुवाँको समस्या पनि कम भएको खाँले बताइन् । 'भान्सा किन गर्नुपर्दो हो भन्ने जस्तो लाग्थ्यो, अहिले चुलो सुधारिएपछि भान्साकोठा पनि चिटिक्क परेको छ,' उनले भनिन् ।
जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले पहिलो चरणमा २ सय ९० घरपरिवारलाई सुधारिएको चुलो वितरण गरिएको जानकारी दिए । उनका अनुसार गाउँपालिकाले लक्षित घरधुरीमा चुलो पु¥याउन ढुवानी तथा वितरणको कामलाई प्राथमिकताका साथ अघि बढाएको छ ।
'सुधारिएको चुलोको प्रयोगले दाउरा सङ्कलनमा लाग्ने समय र श्रम घटाउनुका साथै परिवारको आर्थिक भारसमेत कम गर्न सहयोग पुग्छ । घरभित्रको धुवाँ कम हुँदा नागरिकको स्वास्थ्यसँगै वातावरण संरक्षणमा पनि सकारात्मक प्रभाव पर्छ,' उनले भने ।
उनले गाउँपालिकाको विकास र कार्यक्रमको सफल कार्यान्वयनका लागि वडाका नागरिकको सहयोग आवश्यक रहेको बताए । 'सुधारिएको चुलोको प्रभावकारी प्रयोगसँगै यसको संरक्षण र निरन्तरतामा पनि नागरिकको भूमिका महत्वपूर्ण हुन्छ,' उनले भने ।
वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीले कार्यक्रमको आर्थिक व्यवस्थापन तथा लागत साझेदारीसम्बन्धी विषयमा सहकार्य र पारदर्शितालाई प्राथमिकता दिइएको बताए ।
गाउँपालिकाले सुधारिएको चुलो वितरणलाई केवल चुलो वितरणको कार्यक्रम नभई नागरिकको स्वास्थ्य संरक्षण, दाउराको खपत न्यूनीकरण, वातावरण संरक्षण तथा गृहिणीको समय र श्रम बचत गर्ने एकीकृत अभियानका रूपमा अघि बढाएको जनाएको छ । लागत साझेदारीमा सञ्चालित कार्यक्रमले स्थानीयस्तरमा स्वच्छ ऊर्जाको प्रयोग विस्तार गर्दै परम्परागत चुलोबाट हुने धुवाँजन्य जोखिम न्यूनीकरणमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार