Listen LIVE

रुसी सेनामा रहेका नागरिक छुटाउन भारतको कूटनीतिक पहल

काठमाण्डौ : भारतले रुसी सेनामा लडिरहेका आफ्ना नागरिकलाई छुटाउन सफलतापूर्वक कुटनीतिक प्रयास थालेको छ। 

रोजगारीको खोजीमा एजेन्टमार्फत् रुस पुगेर सेनामा भर्ती भएकामध्ये हालसम्म ८५ जनालाई मुक्त गरिएको समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ। रुसी सेनामा भर्ती भएका अन्य युवकलाई पनि तत्कालै मुक्त गर्ने प्रयास भइरहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। 

प्रधानमन्त्री नरेन्द्र मोदी ब्रिक्स सम्मेलनमा सहभागी हुन आज रुस प्रस्थान गरेका छन्। उनी पुगेलगत्तै थप २० भारतीय मुक्त हुने अधिकारीले जनाएका छन्। रुसी सेनामा भर्ती भएर युक्रेनसँग जबरजस्ती लड्न पठाइएका युवालाई रिहाइका लागि मोदीले नै यसअघि बलियो पहल गरेको समाचारमा जनाइएको छ। 

यसैबीच दक्षिण कोरियाले रुसी सेनामा लड्न तालिम लिइरहेका उत्तर कोरियाली सैनिक फिर्ता गर्न माग गरेको छ। दक्षिण कोरियाका उपविदेशमन्त्री किम होङ–क्यूनले रुसी राजदूत जर्जीलाई बोलाएर रुसी सेनामा तालिम लिइरहेका उत्तर कोरियाका १५ सय सैनिकलाई तत्काल फिर्ता गर्न माग गरेको बीबीसीले जनाएको छ।

त्यसो नगरिए यसको नतिजा राम्रो नहुने चेतावनी दक्षिण कोरियाले दिएको छ। उत्तर कोरियाले रुसमा तालिमका लागि भन्दै पठाएका सैनिकले रुसी सेनामै रहेर युद्ध लड्ने चर्चाका बीच दक्षिण कोरियाको यस्तो चेतावनी आएको हो।

प्रतिक्रिया