Listen LIVE

सुदूरपश्चिमबाट काँग्रेसले जितको लहर ल्याउने छ : सभापति देउवा

धनगढी : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आपसी मतभेद र असमझदारी हटाएर पार्टी एक भएको खण्डमा सुदूरपश्चिमबाट नेपाली कांग्रेसले जितको लहर ल्याउने बताएका छन् ।

मङ्गलबार धनगढीमा सुरु भएको पार्टीको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पार्टी सभापति देउवाले प्रशिक्षण सकेर गाउँगाउँमा गएर जनस्तरमा जनताका गुनासा सुन्न र जनताका काम गर्न प्रशिक्षणमा सहभागी नेताहरूलाई निर्देशन दिए । साथै उनले भने, “आगामी निर्वाचन २०८४ मा केन्द्रित भएर पार्टीलाई अगाडि बढाउन आवश्यक छ सबैतहबाट एक जुट भएर लाग्नु होस् ।”

उनले प्रशिक्षक प्रशिक्षण कार्यक्रमले नेता कार्यकर्तामा थप उत्साह, जागर ल्याउने विश्वास व्यक्त गरे । 

यसैगरी, नेपाली कांग्रेसका नीति तथा प्रशिक्षण विभाका प्रमुख तथा पार्टी उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसले नेपाली जनतालाई सार्वभौम सम्पन्न बनाएको उल्लेख गरे । उनले कांग्रेस सभापतिकै नेतृत्वमा नेपालमा शान्ति सुशासन कायम भएको कुरा मतदाता र जनतामा पु¥याउन पार्टी चुकेको बताए ।

नेपालमा २०४६ सालपछि भएका परिवर्तन र विकासको बारे जनता र मतदाता सामु पुर्याउन नसकेको र अब जनताका माझमा जान आवश्यक भएको बताए । उनले पार्टीले खटायको खण्डमा टोल र बस्तीमा गएर जनतालाई पार्टीले गरेका कामको बारे जानकारी गराउन तालिममा सहभागी प्रशिक्षकलाई निर्देशन दिए ।

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिमका नौ वटै जिल्लाबाट गरी डेढ सय अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको छ । 

प्रशिक्षण कार्यक्रम आज र भोली दुई दिनसम्म धनगढीमा चल्ने र प्रशिक्षणले पार्टीलाई थप बलियो बनाउन र एक ढिक्का भएर अगाडि बढाउने कांग्रेस प्रदेश महामन्त्री मेघराज खड्काले बताए ।

प्रतिक्रिया