नेपालगञ्ज : पछिल्ला केही वर्षयता बाँकेको नेपालगञ्ज र कोहलपुरलाई लागुऔषधको ट्रान्जिट बनाएर विभिन्न जिल्लामा सप्लाईसमेत गर्न थालिएपछि प्रहरीले लागुऔषध कारोबारलाई निस्तेज पार्न बाँके प्रहरीले विशेष अप्रेशन नै सञ्चालन गरेको छ ।
सोही अप्रेशनअन्तर्गत लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले संयुक्तरूपमा खोजतलास र नियन्त्रण योजना बनाएर लागुऔषध कारोबारीलाई एकपछि अर्को गरी पक्राउ गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले प्रहरीको संयुक्त टोलीले लागुऔषध नियन्त्रणका लागि नेपाल–भारत सीमा नाका र प्रमुख बजार क्षेत्रसम्म निगरानी कडा बनाएर सर्च अप्रेशन चलाएको बताए । उनले उक्त अप्रेसन अन्तर्गत नै हालसम्म धेरै जनालाई ठुलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको जनाउँदै अपरेसन निरन्तर जारी रहेको बताए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले सोही अपरेसन अन्तर्गत विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले पछिल्लो पटक नेपालगञ्जबाट १३८ ग्राम ब्राउन सुगरसहित ६ जना कारोबारीलाई पक्राउ गरेको बताए ।
उनका अनुसार नेपालगञ्ज–१४, ‘मेरो प्लानेट’ नजिक ठुलो परिमाणमा लागुऔषध कारोबार भइरहेको विशेष सूचना पाएर गएको प्रहरी टोलीले नेपालगञ्ज–१४ का २४ वर्षीय सुदीपकुमार भाट, सोही स्थान बस्ने २६ वर्षीय पवनकुमार शर्मा र डुडुवा–६ का ३२ वर्षीय राजु साहलाई सय ग्राम १६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
नेपालगञ्ज–१४ स्थित ‘मेरो प्लानेट’ नजिकै भे. १२ प १२२९ नम्बरको मोटरसाइकल रोकेर तीन युवकले ब्राउन सुगरको खरिद बिक्री गरिरहेको जानकारी पाएर पुगेको प्रहरीको टोलीले उनीहरूको खानतलासी गर्ने क्रममा सुदीपको पाइन्टको खल्तीबाट ६४ ग्राम १६० मिलिग्राम लागुऔषध र चार थान मोबाइल फोन बरामद गरेको थियो ।
उनीहरूलाई नेपालगञ्ज–१४, उधौपुर्वाका ५९ वर्षीय सुरत खटिकले ब्राउन सुगर बिक्री गरेको खुलेपछि प्रहरीले खटिकलाई उधौपुर्वा क्षेत्रमा फेला पारेर खानतलासी गर्दा उनको खल्तीबाट समेत ३४ ग्राम ब्राउन सुगर र एक थान मोबाइल फेला पारेको थियो ।
प्रहरीले दुवै घटनाबाट बरामद गरिएको सय ग्राम १६० मिलिग्राम खैरो हेरोइन, पाँच थान मोबाइल फोन र एउटा मोटरसाइकलसहित पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर कानुनी कारबाही अगाडि बढाएको छ ।
यस्तै प्रहरीले नेपालगञ्ज–१५, जमुनाहा माछा मन्डीनजिक जाँच गर्ने क्रममा भारत, नानपारानिवासी थरुवा अहमद र बहराइच निवासी तोहिद खानको खानतलासी गर्दा उनीहरूबाट ३८ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरी प्रवक्ता पातलीले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार