Listen LIVE

प्रतिनिधिसभा निर्वाचन : झापा–५ चुनावी बहसको केन्द्र

झापा : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लिएर झापा निर्वाचन क्षेत्र नं. ५ अहिले देशकै सबैभन्दा धेरै चर्चामा रहेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) को उम्मेदवारीले यो क्षेत्रलाई राष्ट्रिय राजनीतिमा बहसको केन्द्र बनाइदिएको हो । दुवै जनालाई आआफ्नो दलले भावी प्रधानमन्त्रीका रूपमा उभ्याएर पनि यो क्षेत्र चुनावी चर्चाको केन्द्र बनेको हो । चुनावी रौनक पनि थपिँदै छ । 

राजनीतिक वृत्तदेखि सामाजिक सञ्जाल, चिया पसलदेखि बौद्धिक बहससम्म अहिले झापा–५ कै चर्चा छ । “ओली कि बालेन ?” भन्ने प्रश्नले जनमत विभाजित मात्र होइन, उत्साहितसमेत बनाएको छ तर यो क्षेत्रमा अरू प्रतिस्पर्धी पनि गम्भीर ढङ्गले जनमत आफूतिर पार्न उत्रनुभएको छ । यस्तै कारण यो निर्वाचनलाई केवल एक क्षेत्रको प्रतिस्पर्धा मात्र नभई देशको राजनीतिक धार तय गर्ने निर्णायक प्रतिस्पर्धाका रूपमा हेरिएको छ । 

एकातर्फ लामो राजनीतिक अनुभव र सङ्गठनात्मक शक्तिमा रहनुभएका ओली र अर्कातर्फ नयाँ पुस्ताको आशा, विद्रोही चेत र सहरी लोकप्रियताको प्रतीक बनेका बालेनबिचको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ । ओलीले उम्मेदवारी दर्तापछि चार दिन झापा बसेर पार्टी सङ्गठन परिचालन, कार्यकर्ता भेटघाट, चुनावी सभा र घरदैलो कार्यक्रममार्फत जनतामाझ आफ्नो सन्देश पुर्याएका छन् । अर्का प्रतिस्पर्धी शाह पनि उम्मेदवारी दर्तापछि अन्य निर्वाचन क्षेत्रततर्फ लागेका छन् । अरू धेरै उम्मेदवार भने जनतामाझ पुग्न थालिसकेका छन् । 

एमालेले घरदैलो कार्यक्रम र आवश्यक प्रचारप्रसारको काम तीव्ररूपमा अघि बढाइएको पूर्वमन्त्री देवेन्द्र दाहालले जानकारी दिए । दाहालका अनुसार मतदातालाई स्थानीय प्रतिबद्धताबारे जानकारी गराउने, पार्टीका विगतका उपलब्धि र भावी योजना प्रस्तुत गर्ने रणनीति अपनाइएको छ । एमालेले झापा–५ मा आफ्नो परम्परागत मताधार सुरक्षित राख्दै नयाँ मतदाता आकर्षित गर्ने लक्ष्य लिएको जानकारी दिए ।

रास्वपाका वरिष्ठ नेता रहनुभएका उम्मेदवार बालेन भने दमक–५ मा बनाइएको सम्पर्क कार्यालयमा दुई दिन भेटघाट गरेर फर्केको रास्वपाका क्षेत्रीय सभापति भेषराज भट्टराईले बताए । अहिले घरदैलो कार्यक्रमलाई रास्वपाले तीव्र बनाएको उनले जानकारी दिए । 

बालेनले अहिलेसम्म ठुला सार्वजनिक सभा, भाषण वा औपचारिक घोषणापत्र सार्वजनिक गरेका छैनन् । भेट्न आएकाहरूसँग छोटो संवाद, सुझाव सङ्कलन र फोटो खिच्ने शैलीले उनले ध्यान खिचेका छन् । अब कार्यक्रम तय गरेर आएपछि उनले बोल्ने पनि स्थानीय पार्टी नेतृत्वले जानकारी गराएको छ । सामाजिक सञ्जाल, युवामाझ प्रत्यक्ष संवाद र परिवर्तनको नारालाई मुख्य हतियार बनाउने बालेन पक्षको रणनीति देखिन्छ । “जनताले परिवर्तन चाहेका छन् र त्यो परिवर्तन बालेनलाई देखेका छन्,” भट्टराईले भने ।

प्रतिक्रिया