दाङ : दाङको देउखुरीस्थित राप्ती नदीमा झोलुङ्गे पुल निर्माणको काम शुरु भएको छ । लमही नगरपालिका–९, अमिलिया र राजपुर गाउँपालिका–७, हाडबास गाउँलाई जोड्ने गरी राप्ती नदीमा झोलुङ्गे पुल निर्माणको काम शुरु भएको हो ।
सडक पूर्वाधार विकास कार्यालय दाङका सूचना अधिकारी लीलाधर गिरीले लुम्बिनी प्रदेश सरकारको एक करोड ९१ लाख ११ हजार ३४७ रुपैयाँको लागतमा २८६ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माणको काम सुरु भएको जानकारी दिए । सूचना अधिकारी गिरीका अनुसार एक वर्षभित्र झोलुङ्गे पुल निर्माणको काम सक्ने गरी शैलेन्द्र निर्माण सेवा नुवाकोटले पुल निर्माणको काम गरिरहेको छ ।
सूचना अधिकारी गिरीले २०८१ माघ २२ गते ठेक्का सम्झौता भएको झोलुङ्गे पुल २०८२ माघ मसान्तभित्र निर्माण गरिसक्ने गरी काम भइरहेको बताए । सम्झौता भएपछि निर्माण कम्पनीले काम सुरु गरेको र पुलको फाउन्डेसन निर्माणको काम सकिएको भन्दै सूचना अधिकारी गिरीले भने, “पुल निर्माणको काम राम्रै गतिमा अघि बढिरहेको छ । पुलको प्रारम्भिक चरणको फाउन्डेसन निर्माणको काम सकिएको छ ।”
सूचना अधिकारी गिरीका अनुसार निर्माण कम्पनीले झोलुङ्गे पुलको सिभिल कार्र्य अन्तर्गत पुलको फाउन्डेसन निर्माणको काम गरिसकेको छ । झोलुङ्गे पुल निर्माण अन्तर्गत निर्माण कम्पनीले प्रारम्भिक चरणको मुख्य काम गरिसकेकाले अब पोल गाड्नेदेखि तार तानेर फिटिङ गर्ने काम गर्न बाँकी रहेको छ । उक्त स्थानमा पुल नहुँदा राजपुर गाउँपलिका–७, हाडबासका करिब २५ देखि ३० घरलाई बर्सातको समयमा राप्ती नदीमा जोखिमपूर्ण डुङ्गाबाट यात्रा गर्नुपर्ने बाध्यता रहेको लमही नगरपालिका–९, अमिलिया निवासी श्रीराम दहितले बताए ।
पुल निर्माण भएपछि हाडबाससँगै गोठुवा गाउँका स्थानीयलाई स्थानीयलाई घरायसी कामका लागि किनमेलसँगै बालबालिकालाई अमिलियामास्थित माध्यमिक विद्यालयमा पढ्न आउन सहज हुने भएको छ । झोलुङ्गे पुल नहुँदा हाडबासवासीलाई करिब डेढ घण्टा हिँडेर लमही नगरपालिका–९ हात्तीसाल र राजपुर गाउँपालिका–७, गोठुवा गाउँ जोड्ने गरी निर्माण गरिएको झोलुङ्गे पुलसम्म गएर राप्ती नदी पार गर्नुपर्न बाध्यता छ । नदी सानो भएको समयमा भने डुङ्गा चल्ने गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार