बुटवल : नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले काँग्रेसको महाधिवेशन तोकिएको समयमा नै हुने बताएका छन् । उनले काँग्रेसको विधान र संविधान अनुसार नै अबको २०–२२ महिनाभित्रमा महाधिवेशन हुने र अहिले पार्टीभित्र रहेका गुट उपगुट सकिने बताए ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले सोमबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता विश्वकर्माले अहिलेको गठबन्धन २०८४ सालको निर्वाचनसम्म कायम रहने दाबी गरे ।
नेता विश्वकर्माले पछिल्लो समय नेपाली काँग्रेस पार्टी चलायमान बन्दै गइरहेको पनि दाबी गरे । उनले अहिलेको अवस्थामा ५५ वटा विभाग निर्माण गरी ७७ वटै जिल्लामा विभिन्न कार्यक्रम निरन्तर रूपमा भइरहेको बताऐ ।
उनले सरकारले ल्याएको अध्यादेश यथास्थितिमा पारित हुने अवस्था भने नरहेको बताए । अध्यादेश संसदमा लैजाँदा पार्टीहरूबिचमा असन्तुष्टि बढ्ने भएकोले सोचेर मात्रै निर्णय लिनुपर्ने बताए ।
उनले भने– अध्यादेश ल्याउने विषयमा प्रधानमन्त्रीज्यूले नेपाली काँग्रेसका मन्त्रीहरुसँग छलफल गर्नुभएको थियो तर अहिले संसदमा लैजाने विषयमा सर्वसम्मत हुने अवस्था देखिएको छैन ।
उनले सरकारले अध्यादेश जारी गर्ने संवैधानिक अधिकार भए पनि आवश्यकता महसुस फरक ढङ्गले भएको बताउँदै हुबहु पारित नभए प्रतिस्थापन विधेयकमार्फत संसदीय प्रक्रियामा जाने र पारित हुने तर्क गरे ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कारणले अहिलेको काँग्रेस एमालेको गठबन्धन बनेको उनको भनाइ छ । उनले फरक प्रसङ्गमा हरेक परिस्थितिलाई नेपालीले राजनीतिसँग जोडेर गाली गर्ने परम्परा बढ्दै गएकोमा चिन्ता प्रकट गरे ।
उनले लोकतन्त्रमा वाक् स्वतन्त्रतालाई पूर्व राजाले उच्चतम प्रयोग गरेको बताउँदै राजसंस्था फर्काउने अभिव्यक्तिलाई राजनीतिक दलले प्राथमिकता नदिएको बताए ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार