Listen LIVE

उद्धार गरिएका बाघलाई सुरक्षितरुपमा राख्न चुनौती

नेपालगञ्ज : वन्यजन्तु संरक्षणका लागि उद्धार गरिएका बाघलाई सुरक्षित रूपमा राख्नु आवश्यक भए पनि त्यसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । प्राकृतिक बासस्थानमा स्वतन्त्र रूपमा विचरण गर्ने बाघलाई उद्धारपछि लामो समयसम्म केजमा राख्नुपर्दा व्यवस्थापन, स्वास्थ्य, व्यवहार तथा आर्थिक पक्ष चुनौतीका विषय बन्ने गरेका छन् ।

बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कणेलका अनुसार समस्याग्रस्त वा घाइते अवस्थामा उद्धार गरिएका बाघलाई केजमा राख्नु बाध्यता भए पनि यो दीर्घकालीन समाधान होइन । उनका अनुसार एकपटक उद्धार गरेर केजमा राखिएको बाघलाई पुनः जङ्गलमा फर्काउन निकै कठिन हुन्छ । 'वन्यजन्तुलाई केजमा राख्नु भनेको उसलाई आजीवन कारावास दिनुजस्तै हो,' उनले भने, 'विशेषगरी बाघजस्तो ठुलो र स्वच्छन्द जीवनशैली भएको जनावरका लागि यस्तो अवस्था झन् चुनौतीपूर्ण हुन्छ ।'

हाल बाँके राष्ट्रिय निकुञ्जको उद्धार केन्द्रमा एकवटा पाटे बाघ र दुईवटा चितुवा राखिएका छन् । यस्ता वन्यजन्तुको दैनिक हेरचाह, आहार व्यवस्थापन, स्वास्थ्य निगरानी तथा सुरक्षाका लागि पर्याप्त जनशक्ति र बजेट आवश्यक पर्ने कणेलले बताउनुभयो। सीमित साधन–स्रोतका कारण हाल सञ्चालनमा रहेका होल्डिङ केज पूर्णरूपमा व्यवस्थित नभएकाले व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ ।

यही आवश्यकता महसुस गर्दै बाँके राष्ट्रिय निकुञ्जले खुला प्रकृतिको नयाँ होल्डिङ केज निर्माण सुरु गरेको छ । कणेलका अनुसार नयाँ संरचनामा बाघले प्राकृतिक वातावरणको अनुभूति गर्न सक्ने गरी खुला क्षेत्र, विश्रामस्थल तथा पानीको स्रोतको व्यवस्था गरिनेछ ।

उनले भने, 'वन्यजन्तु विज्ञका अनुसार प्राकृतिक वातावरणमा विशाल क्षेत्र ओगटेर विचरण गर्ने बाघलाई साँघुरो संरचनामा लामो समय राख्दा उसको स्वाभाविक व्यवहारमा परिवर्तन आउन सक्छ । यसले मानसिक तनावदेखि स्वास्थ्य समस्यासम्म निम्त्याउने जोखिम रहन्छ । त्यसैले उद्धार गरिएका बाघलाई सकेसम्म प्राकृतिक वातावरणसँग मिल्दोजुल्दो संरचनामा राख्ने अभ्यासलाई विश्वभर प्राथमिकता दिइँदै आएको छ ।'

कणेलका अनुसार नेपालका विभिन्न निकुञ्ज तथा संरक्षण क्षेत्रमा हाल करिब १९ वटा समस्याग्रस्त बाघ केजमा राखिएका छन् । यस्ता बाघको संरक्षण आवश्यक भए पनि दीर्घकालीन व्यवस्थापन राज्यका लागि खर्चिलो र जटिल बन्दै गएको छ ।

संरक्षणकर्मीका अनुसार उद्धार गरिएका बाघको संरक्षणसँगै उनीहरूलाई प्राकृतिक वातावरण नजिकको आवास उपलब्ध गराउने उपाय खोज्नु अहिलेको प्रमुख आवश्यकता बनेको छ । यसले वन्यजन्तुको कल्याण सुनिश्चित गर्नुका साथै संरक्षण प्रयासलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया