नेपालगञ्ज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालको पर्यटन क्षेत्रको दिगो विकासका लागि नेपाल पर्यटन बोर्डको पुनर्संरचना आवश्यक रहेको बताएका छन् ।
नेपालगञ्ज विमानस्थलको अनुगमनका लागि नेपालगञ्ज पुगेका मन्त्री पौडेलले बाँकेका होटल तथा पर्यटन व्यवसायीसँग आयोजित अन्तरक्रिया कार्यक्रममा सो धारणा व्यक्त गरेका हुन् ।
उनले आगामी बजेटमा नै उच्च प्राथमिकताका साथ नेपाल पर्यटन बोर्डको पुनर्संरचनालाई समेटिएको जानकारी दिँदै पर्यटन क्षेत्रलाई थप प्रभावकारी बनाउन बोर्डलाई समयानुकूल पुनर्संरचना गर्न आवश्यक रहेको स्पष्ट पारे ।
पर्यटन व्यवसायीका सुझाव सुनेपछि मन्त्री पौडेलले भने, 'पर्यटक भित्र्याउन नेपालगन्जको भूमिका महत्त्वपूर्ण हुन सक्छ । पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सरकार गम्भीर छ । पर्यटन व्यवसायीका अधिकांश माग सम्बोधन गर्ने गरी सरकार अघि बढिरहेको छ ।'
कार्यक्रममा होटल एसोसिएसन नेपाल -हान) बाँकेका अध्यक्ष दिवाकर खनाल, वरिष्ठ उपाध्यक्ष केशव न्यौपाने, होटल व्यवसायी सङ्घ बाँके–नेपालगञ्जका अध्यक्ष भीमलाल कँडेल, नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मी तथा पर्यटन व्यवसायी देवानन्द अर्याललगायतले पश्चिम नेपालको पर्यटन सम्भावना र त्यस क्षेत्रमा देखिएका समस्याबारे मन्त्री पौडेललाई जानकारी गराएका थिए ।
उनीहरूले नेपालगञ्ज–पोखरा हवाई उडान बन्द हुँदा पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेको गुनासो गर्दै विदेशी पर्यटकमाथि लागु गरिएको हवाई भाडादरको विभेद अन्त्य गर्न पनि माग गरे ।
नेपालगञ्जमा अत्याधुनिक नयाँ टर्मिनल भवन निर्माण सम्पन्न भइसकेकाले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सञ्चालनका लागि पहल गर्न पनि व्यवसायीहरूले मन्त्री पौडेलसँग आग्रह गरेका छन् । हान बाँकेका अध्यक्ष दिवाकर खनालले मन्त्रीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले सरकारप्रति पर्यटन व्यवसायी आशावादी रहेको बताए ।
कार्यक्रममा व्यवसायीहरूले पश्चिम नेपालको पर्यटन विकास र प्रवर्धनलाई उच्च प्राथमिकतामा राखेर मन्त्रालयले प्रभावकारीरूपमा काम गर्नुपर्ने आवश्यकता पनि औँल्याएका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार