नेपालगञ्ज डेस्क : बाँके जिल्लाका सबै आठ स्थानीय तहले आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो वार्षिक बजेट सार्वजनिक गरेका छन्। सार्वजनिक बजेटअनुसार जिल्लाभरका स्थानीय तहहरूको कुल बजेट ७ अर्ब १२ करोड ४८ लाख ४ हजार रुपैयाँ रहेको छ।
बजेटको आकार हेर्दा सबैभन्दा ठुलो बजेट नेपालगञ्ज उपमहानगरपालिकाको रहेको छ भने गाउँपालिकामध्ये राप्ती सोनारी गाउँपालिका अगाडि देखिएको छ।
स्थानीय तहहरूले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा, वातावरण संरक्षण तथा सुशासनलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन्।
नेपालगञ्ज उपमहानगरपालिकाको बजेट सबैभन्दा बढी १ अर्ब ७६ करोड ६४ लाख ८३ हजार रुपैयाँ रहेको छ भने त्यसपछि कोहलपुर नगरपालिकाको १ अर्ब ७ करोड ५१ लाख रुपैयाँको बजेट रहेको छ।
गाउँपालिकामध्ये सबैभन्दा बढी बजेट राप्ती सोनारी गाउँपालिकाको ९२ करोड ९२ लाख ३९ हजार रुपैयाँ रहेको छ। त्यसपछि क्रमशः बैजनाथ गाउँपालिकाको ८१ करोड ७१ लाख ४० हजार, खजुरा गाउँपालिकाको ७८ करोड २७ लाख ९३ हजार, जानकी गाउँपालिकाको ६९ करोड ५६ लाख २९ हजार, डुडुवा गाउँपालिकाको ५६ करोड ८० लाख तथा सबैभन्दा कम नरैनापुर गाउँपालिकाको ४९ करोड २ लाख ८३ हजार रुपैयाँ रहेको छ।
स्थानीय तहहरूले कृषि आधुनिकीकरण, सिँचाइ, पशुपालन, शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार, युवा स्वरोजगार तथा सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छन्।
संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय तथा विभिन्न स्रोतलाई आधार मानेर बजेट निर्माण गरिएको पालिकाहरूले जनाएका छन्।
बजेटको आकार बढ्दै गए पनि कार्यान्वयन, पुँजीगत खर्चको प्रभावकारिता, बेरुजु नियन्त्रण तथा विकास आयोजनाको गुणस्तर सुधार स्थानीय तहका लागि मुख्य चुनौतीका रूपमा रहेको नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए।
उनका अनुसार विगतका वर्षहरूमा बाँकेका स्थानीय तहहरूमा बेरुजुको समस्या देखिएको थियो, जसलाई न्यूनीकरण गर्दै पारदर्शी खर्च व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ।
यसैगरी नेपालगञ्जका नागरिक अगुवा हेमन्तराज काफ्लेले स्थानीय तहका बजेट प्रभावकारी रूपमा कार्यान्वयन हुन सके जिल्लाको पूर्वाधार विकास, सेवा प्रवाह, कृषि उत्पादन, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार आउने अपेक्षा गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार