डडेलधुरा : जङ्गली जनावर बँदेल र बाँदरले अन्नबाली सखाप पारेर हैरान भएका किसानलाई च्याउ खेती वरदान हुने सम्भावना देखिएको छ ।
पछिल्ला वर्षमा व्यावसायिकरूपमा च्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र डडेलधुराले जनाएको छ । डडेलधुरामा उत्पादित च्याउ सुदूरपश्चिमका पहाडी जिल्लासँगै तराईका जिल्ला कैलाली, कञ्चनपुरमा निर्यात गरिँदा किसानले मनग्गे आम्दानी गर्न सफल भएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीले आफूले च्याउ खेतीबारे बुझेको बताउँदै जङ्गली जनावरले सताएका किसानका लागि च्याउ खेती राम्रो सम्भावना भएको उल्लेख गरे । थोरै जमिनमा टनेल निर्माण गरी राम्रो उत्पादनसँगै मनग्गे आम्दानी गर्न सकिने भएकाले जङ्गली जनावरको हैरानीबाट समेत किसानले मुक्ति पाउने उनको भनाइ छ । हाल नेपालका ७० जिल्लामा च्याउको व्यावसायिक खेती गरिँदै आएको र वार्षिक १४ हजार मेट्रिक टन उत्पादन हुने गरेको तथ्याङ्क रहेको उनले बताए ।
केही वर्षयता डडेलधुराका ११ किसानले च्याउको व्यावसायिक उत्पादन गर्दै आएको कृषि ज्ञान केन्द्र प्रमुख नरेन्द्र पनेरूले जानकारी दिए । उनका अनुसार डडेलधुरामा वार्षिक छ हजार सात सय किलोग्राम च्याउ उत्पादन हुने गरेको छ । बजारको समस्या नहुने भएकाले च्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको उनले बताए । प्रतिकेजी चार सय रुपैयाँसम्म किसानले पाउने भएकाले आम्दानीको राम्रो स्रोत च्याउ बन्दै गएको उनको भनाइ छ ।
हाल डडेलधुरामा ठुलो मात्रामा कन्ये प्रजाति र केही मात्रामा सिताके प्रजातिको च्याउ उत्पादन भइरहेको उनले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार