धनगढी : कैलालीको कैलारी गाउँपालिका–५, बैजपुरमा १५ शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । पालिकाभित्रै कार्यरत जनशक्ति व्यवस्थापन गरेर गाउँपालिकाले आधारभूत अस्पताल सञ्चालनमा ल्याएको हो । गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले अस्पतालको उदघाटन गरे ।
हरेक पालिकामा १५ शय्याको अस्पताल स्थापना हुनुपर्ने सरकारको नीति अनुरूप अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पताल सञ्चालनका लागि आर्थिक वर्ष २०८२/०८३ मा अस्पताल भवन निर्माण गरिएको थियो तर बजेट अभावका कारण सञ्चालनमा आउन सकेको थिएन ।
पालिकाले विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा पालिकाभित्रै कार्यरत कर्मचारी व्यवस्थापन गरेर आधारभूत अस्पताल सञ्चालनमा ल्याएको स्वास्थ्य शाखाका प्रमुख नरेशकुमार चौधरीले बताए । उनका अनुसार अस्पतालमा फार्मेसी, आकस्मिक, ओपिडी, एक्सरेलगायतका सेवा सञ्चालन भएको छ । नेपाल सरकारले निःशुल्क घोषणा गरेको सेवाहरू आधारभूत अस्पतालबाट प्राप्त हुने छन् । अतिरिक्त सेवाका लागि भने नियमानुसारको शुल्क तिर्नुपर्ने चौधरीले जानकारी दिए ।
आधारभूत अस्पताल सञ्चालनले पालिकाको नेपाल–भारत सीमाक्षेत्र आसपासका बासिन्दालाई सहज हुने अपेक्षा गरिएको छ । गाउँघरमा नसर्ने रोगको समस्या बढिरहेका बेला अस्पताल सञ्चालनले सेवाग्राहीलाई धेरै सहयोग पुग्ने शाखा प्रमुख चौधरीको भनाइ छ ।
भविष्यमा उक्त अस्पतालबाट प्रवाह हुने सेवा थप्दै जाने जनाइएको छ । अस्पताल सञ्चालनका लागि एक जना मेडिकल अधिकृतसहितका जनशक्ति रहेको जानकारी दिइएको छ ।
सङ्घीय सरकारको १८ करोड ५२ लाख रुपैयाँ लगानीमा अस्पताल भवन निर्माण भएको हो । अस्पताल निर्माणका लागि रोयल कन्स्ट्रक्सन जेभीसँग २०७९ असार २९ मा ठेक्का सम्झौता भएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार