नेपालगञ्ज : तिहार र छठ जस्ता ठुला चाडपर्व शुरु भइसकेकोले जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेले सवारी साधनको चेकजाँच तथा ट्राफिक नियमको पालनामा कडाइ शुरु गरेको छ ।
चाडपर्वको बेला धेरै सवारी साधन सडकमा चल्ने भएकोले सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित सडक यात्रालाई प्रवद्र्धन गर्ने उद्देश्यले चेकजाँच र नियम पालनामा कडाइ गरिएको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक कनक बहादुर शाहीले तिहारको समयमा सडकमा गाडी धेरै चल्ने, मादक पदार्थ र लागु औषध समेत प्रयोग गरेर गाडी चलाउने सम्भावना रहेकोले यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर चेकजाँच कडा पारिएको बताए ।
सोही क्रममा सार्वजनिक सवारी चालकहरूको लागुऔषध सेवन परीक्षण कार्य गरिरहेको उनले बताए ।
नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा चोकस्थित नेपालगञ्ज–कोहलपुर सडकखण्डमा गरिएको लागुऔषध सेवन परीक्षणका क्रममा ११ जना सवारी चालक तथा सहचालकमा लागुऔषध सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्ज र लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्जको सहकार्यमा सञ्चालन गरिएको सो लागु औषध परीक्षण कार्यक्रममा २५ वटा सार्वजनिक सवारीसाधनका चालक तथा सहचालकको ड्रग टेस्ट किटमार्फत प्राविधिक टोलीले लागु औषध परीक्षण गरेको थियो ।
परीक्षणका क्रममा ११ जनाको नतिजा पोजेटिभ आएपछि उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरको जिम्मा लगाइएको कार्यालय प्रमुख शाहीले बताए ।
उनले २५ जना चालक र सहचालकको लागु औषध परीक्षण गर्दा ११ जनामा लागु औषध पुष्टि हुनु निकै चिन्ताजनक रहेको बताए ।
सवारी चालकले लागुऔषध सेवन गरी सवारी चलाउँदा सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्ता परीक्षण अभियानलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार