Listen LIVE

बाँकेमा विभिन्न हिंसाका घटनामा वृद्धि

नेपालगञ्ज : बाँकेमा महिला, बालबालिका र ज्येष्ठ नागरिकविरुद्ध हिंसाका घटना वृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको गत चैत महिनाको मासिक तथ्याङ्कमा मात्रै महिला, बालबालिका र ज्येष्ठ नागरिकविरुद्ध हिंसाका १०३ वटा उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको पाइएको हो । 

जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टका अनुसार चैत महिनामा हिंसाका १०३ वटा उजुरी दर्ता भएकामा ८२ वटा विभिन्न तरिकाले उजुरी फस्र्योट गरिएको तथा २१ वटा उजुरी फस्र्योट हुन बाँकी रहेका छन् । सूचना अधिकारी विष्टले पीडित भएर उजुरी दिनेमा १८ देखि २५ वर्षका २५ जना तथा २६ देखि ३९ वर्षका ५२ जना महिला, बालबालिका र ज्येष्ठ नागरिक रहेको बताए । 

त्यसै गरी गत महिनामा मात्रै ५३ जना महिला, बालबालिका र ज्येष्ठ नागरिक हराएको वा बेपत्ता भएको भनी जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन परेको विष्टले बताए । सोही आधारमा खोजतलास गर्दा २९ जना फेला परेको र बाँकी २४ जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार हराएका मध्ये २५ जना महिला, १९ जना बालिका, चार जना बालक र पाँच जना ज्येष्ठ नागरिक रहेका थिए । जसमध्ये ११ जना महिला, १३ जना बालिका, तीन जना बालक र दुई जना ज्येष्ठ नागरिक फेला परेका थिए । प्रहरीले अझै पनि १४ जना महिला, छ जना बालिका, एक जना बालक र तीन जना ज्येष्ठ नागरिकको खोजी गरिरहेको विष्टले जानकारी दिए ।

प्रतिक्रिया