सुर्खेत : कर्णाली प्रदेश सरकारले सहिद स्मृति भत्ता र जीवन निर्वाह विशेष भत्ता वितरणका लागि आर्थिक अख्तियारी दिने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सहिद स्मृति भत्ता र जीवन निर्वाह विशेष भत्ताका वितरणका लागि चार करोड ८५ लाख ५२ हजार रुपियाँ स्थानीय तहमा अख्तियारी पठाउन आर्थिक मामिला तथा योजना मन्त्रालयलाई स्वीकृति दिएको हो ।
सरकारका प्रवक्ता एवंम भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहका अनुसार सहिद स्मृति भत्ता वितरणका लागि दुई करोड ५५ लाख ७२ हजार रुपैयाँ र जीवन निर्वाह विशेष भत्ता वितरणका लागि दुई करोड २९ लाख ८० हजार रुपैयाँ गरी चार करोड ८५ लाख ५२ हजार रुपैयाँ आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत स्थानीय तहमा पठाउन स्वीकृति दिइएको हो ।
यस्तै, बैठकले विभिन्न कार्यविधि र निर्देशिकाहरू स्वीकृत गरेको छ । बैठकले आयोजना प्रस्ताव तथा छनौट प्रक्रियासम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, कर्णाली प्रदेश समपूरक अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, विशेष अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, कर्णाली प्रदेश ससर्त अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि र लैङ्गिक हिंसा प्रभावितका लागि घटना व्यवस्थापन तथा प्रेषण प्रक्रिया निर्देशिका, २०८२ स्वीकृत गरेको हो ।
बैठकमा प्रदेश सरकारले लैङ्गिक हिंसा पीडितहरूका घटनाको व्यवस्थापन तथा प्रेषण प्रणालीलाई प्रभावकारी बनाउन निर्देशिका स्वीकृत गरेको मन्त्रीले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार