Listen LIVE

राष्ट्रिय ढुकुटीमा १४ अर्ब ५४ करोड डलर सञ्चित

काठमाण्डौ : कुनै समय ६ महिनाको वस्तु तथा सेवा आयातका लागि मात्र पर्याप्त रहेको विदेशी मुद्राको सञ्चिति वैशाखमा अहिलेसम्मकै उच्च अवस्थामा पुगेको छ ।

राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार पछिल्लो समय मुलुकसँग विदेशी मुद्रा नियमित रूपमै थुप्रिन थालेको छ । चालु आवको वैशाखसम्मको तथ्यांक समेटेको प्रतिवेदनले समीक्षा महिनासम्म मुलुकसँग १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ अर्थात् १४ अर्ब ५४ करोड डलर बराबरको विदेशी मुद्रा सञ्चित छ । यस्तो सञ्चितिमध्ये २२.१ प्रतिशत हिस्सा भारतीय मुद्राको रहेको छ भने बाँकी अमेरिकी डलर छ । 

चालु आव १० महिनामै मुलुकसँग चार खर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा थपिएको प्रतिवेदनमा उल्लेख छ । २०८० असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ विदेशी मुद्रा रहेको पछिल्ला १० महिनामा २६।२ प्रतिशतले सञ्चिति बढेको हो । 

कुल विदेशी मुद्रा सञ्चितिमध्ये राष्ट्र बैंकसँग मात्रै १७ खर्ब २२ अर्ब दुई करोड रुपैयाँ रहेको छ भने राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग एक खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चित छ । सञ्चित कुल विदेशी मुद्राबाट अहिलेको औसतमा १२ महिना १८ दिनको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकको अनुमान छ । त्यस्तै उक्त सञ्चितिले १५ महिना तीन दिनको वस्तु आयात धान्न पुग्ने प्रतिवेदनमा उल्लेख छ । 

घट्दो आयात र बढ्दो विप्रेषणका कारण पछिल्लो समय विदेशी मुद्रा थुप्रिँदै गएको देखिन्छ । राष्ट्र बैंकका अनुसार वैशाखसम्म मुलुक भित्रिने विप्रेषण १९.२ प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा भने यस्तो आप्रवाह २३.४ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया