Listen LIVE

जनावर र मानव द्वन्द्व व्यवस्थापन गर्न राठौरलाई स्थानीयको सुझाव

बर्दिया : बर्दियाको क्षेत्र नम्बर–२ बाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरलाई स्थानीय जनताले जनावर र मानव बस्ती व्यवस्थापनलाई प्राथमिकता दिन सुझाव दिएका छन्।

बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज नजिकका बस्तीमा जंगली जनावर बारम्बार पस्ने, हिँस्रक जनावरको आक्रमणबाट मानवीय क्षति हुने क्रम बढ्दै गएपछि स्थानीयवासीले असुरक्षा महसुस गर्न थालेका छन्। पछिल्ला दिनमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै जाँदा यो विषय क्षेत्रका लागि गम्भीर समस्या बनेको छ।

ठाकुरबाबा नगरपालिका–३ का कमानसिंह साउदका अनुसार प्रभावशाली र अनुभवी नेता राठौर आफ्नो क्षेत्रबाट उम्मेदवार भएकाले स्थानीयले आफ्ना समस्या र पिरमर्का सुनाएका हुन्। उनले जनताको आवाज सम्बोधन हुने विश्वास पनि व्यक्त गरे।

स्थानीयवासी कौशिला टमटाका अनुसार विगतमा बर्दियामा विकासका विभिन्न कामको नेतृत्व गरेका राठौरबाट मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, कृषकका समस्या समाधान, सडक तथा पुल–पुलेस निर्माणजस्ता विषयमा ठोस पहल हुने अपेक्षा गरिएको छ।

नेता राठौर हाल स्थानीय जनतासँग भेटघाट गर्नुका साथै ई–सुझाव संकलनमा पनि सक्रिय छन्। ठाकुराबाबा नगरपालिकाका मेयरसमेत रहेका कांग्रेस नेता तिलक लम्सालले जनावर–मानव बस्ती व्यवस्थापनलगायतका विषयमा धेरै सुझाव प्राप्त भएको जानकारी दिए।

उल्लेखनीय छ, किशोरसिंह राठौर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर–३ बाट उम्मेदवार भई २९ हजार ४० मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका तत्कालीन जिल्ला अध्यक्ष किश्मतकुमार कक्षपतिले २४ हजार २ सय ४७ मत प्राप्त गरेका थिए।

प्रतिक्रिया