काठमाण्डौ : इजरायल–हमास युद्ध शुरु भएयता प्यालेस्टाइनी क्षेत्रमा १ लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित भएका छन्।
संक्रमित हुनेमा अधिकांश बालबालिका र बूढाबूढी रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
वफा एलवानका पाँच वर्षीय छोरा आक्रमणबाट घर क्षतविक्षत बनेपछि पालमा बस्न थालेको निकै महिना भइसक्यो। उनलाई सुत्न समस्या भइरहेको छ तर द्वन्द्वरत गाजाको ‘टेन्ट शहर’ मा एलवान र उनका सात बच्चा आश्रय लिइरहेका छन् र उनीहरू सुत्न नसक्नुको कारण युद्धको बन्दुक होइन।
‘मेरो छोरो रातभरि निदाउन सक्दैन किनभने उसले छालासम्बन्धी रोगका कारण शरीरलाई स्थिर राख्न सक्दैन’,आमा एलवानले भनिन्। बालकको पैताला र गोडाको माथिल्लो भागमा रातासेता धब्बा छन्। उसको टी–शर्टमुनि यस्ता धेरै धब्बा छन्। उनी छालाको संक्रमण, ठेउला, लुतो, घमौरा, जुकालगायत अन्य समस्याबाट पीडित धेरै गाजावासीहरूमध्ये एक हुन्।
‘हामी भुईंमा सुत्छौँ, बालुवामा सुत्छौँ, जहाँ कीरा बाहिर निस्कन्छन्’, एलवानले भनिन्। उनको परिवार मध्य गाजा शहर देइर अल–बलाको नजिक समुद्रको नजिक बलौटे टुक्रामा बस्ने हजारौँ विस्थापितमध्ये एक हो। एलवानको विचारमा संक्रमण अवश्यंभावी छ।
उनले भनिन्, ‘हामी आफ्ना छोराछोरीलाई पहिलेजस्तो नुहाउन सक्दैनौँ। त्यहाँ हात, गोडा र शरीर धुन चाहिने कुनै उत्पादन छैनन्।’ आमाबाबुले छोराछोरीलाई भूमध्यसागरमा नुहाउन भन्थे तर युद्धले आधारभूत सुविधा ध्वस्त पार्दा उत्पन्न प्रदूषणले रोगको जोखिम बढाएपछि समुद्रमा नुहाउने सम्भावना पनि छैन। सबै फोहर र प्रदूषित बनेको छ। ‘उनीहरूले दिसा र बच्चाको दिसा पुछेका टाला पनि समुद्रमा फ्याँक्छन्’, उनले भनिन्।
विश्व स्वास्थ्य संगठनका अनुसार गाजामा युद्ध शुरु भएयता लुतो र जुकाका ९६ हजार ४१७, ठेउलाका ९ हजार २७४ विरामी भेटिएका छन्। प्यालेस्टिनी क्षेत्रमा लुतो र ठेउलाको महामारी छ। क्लिनिकमा दुईजना केटाले आफ्नो हातगोडा‚ ढाड र पेटमा दर्जनौं ठेउलाका दाग र फोका र लुतो र यसले बनाएका घाउ देखाए।
गाजाका डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) का मेडिकल कोअर्डिनेटर मोहम्मद अबु मुगाइसिबले भने, ‘बालबालिका खेलप्रिय र अन्जान हुन्छन्। उनीहरू बाहिर खेल्छन्, कुनै पनि चीज छुन्छन्, कतिपय खानेकुरा नधोईकन खान्छन्।’
अबु मुगैसीबका अनुसार गर्मीले पसिना र फोहर जम्मा हुने सम्भावना बढी हुन्छ जसले लुतो, एलर्जी र छालाजन्य अन्य रोगको सङ्क्रमणको सम्भावना बढाउँछ।
विश्व स्वास्थ्य संगठनका अनुसार झाडापखालाका ४ लाख ८५ हजार विरामी भेटिएका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार