नेपालगञ्ज : बाँके क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले महिलाहरूलाई स्वतन्त्ररूपमा आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेका छन् । महिलालाई समान अधिकार दिलाउने र सशक्तिकरण गर्ने सवालमा प्रतिनिधिसभा सदस्यको निर्वाचन महत्वपूर्ण अवसर भएको हुँदा महिलाहरूले यो अवसरलाई खेर जान दिन नहुने राईको भनाई थियो । नेकपा एमाले क्षेत्र नं २ को महिला निर्वाचन परिचालन कमिटीले नेपालगञ्जमा गरेको बृहद् महिला भेलामा उम्मेदवार राईले समान हकअधिकार प्राप्तिका लागि महिलाहरू स्वयं चनाखो हुनुपर्ने बताए ।
प्रतिनिधिसभा सदस्यहरू खासगरी कानुन, नीति–नियम बनाउने र भौतिक पूर्वाधार निर्माणमा केन्द्रित हुने भएको जानकारी दिँदै राईले आफू विजयी भएमा विगतमा आफूले कानुन र पूर्वाधार निर्माणमा हासिल गरेको अनुभवले थप उल्लेख्य काम गर्नसक्ने दाबी गरे ।
भेरी अस्पतालको सेवासुविधा विस्तारलाई आफ्नो प्रमुख चुनावी मुद्दा बनाएका एमाले उम्मेदवार राईले आफू प्रतिनिधिसभा सदस्य नहुँदा समेत बाँकेमा स्वास्थ्य सेवा सुदृढ बनाउन सक्रिय भएको जानकारी दिए । नले प्रदीप यादव स्वास्थ्यमन्त्री हुँदा आफूले करिब सवा ३ अर्बको योजना भेरी अस्पतालका लागि पारेको भएपनि पछि यादव स्वास्थ्य मन्त्रीबाट हटेपछि त्यो कार्यान्वयनमा आउन नसकेको बताए ।
भेरी अस्पतालको सुविधा विस्तार गरेरै छाड्ने दृढता व्यक्त गरेका राईले भने– ‘मन्त्री छँदा भेरी अस्पतालमा नयाँ भवनहरू बनाउन सकें । अब त्यहाँ पर्याप्त दक्ष जनशक्तिको व्यवस्था गर्ने हो । र, सेवासुविधा पनि विस्तार गर्ने हो ।’ उम्मेदवार राई भेरी अस्पतालमा ट्रमा सेन्टर र मुटु रोगसम्बन्धी सहज उपचारको उपलब्धताका लागि सक्रिय छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार