Listen LIVE

श्रीलंकामा एनपिपी पार्टीले जितेकामा एमालेको बधाई

काठमाण्डौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले श्रीलंकामा हालै सम्पन्न संसदीय निर्वाचनमा नेशनल पिपुल्स पावर (एनपिपी) पार्टीले दुई तिहाइ बहुमत हासिल गरेकामा बधाई ज्ञापन गरेको छ।

एमाले महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गर्दै संसदीय निर्वाचनमा एनपिपी पार्टीको विजयले श्रीलंकामा राजनीतिक स्थायित्व, आर्थिक सुधार, सामाजिक न्याय तथा आत्मनिर्भरता अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्। बिहीबार (यही १४ नोभेम्बर)मा भएको निर्वाचनमा एनपिपी पार्टीले २२५ स्थानमध्ये १५९ स्थानमा जित हासिल गरेको थियो।

उनले जनताले रोजेको यस विकल्पलाई सही रूपमा सफल पारेर श्रीलंकाले विश्वमै नमुना प्रस्तुत गर्न सकोस् भन्ने शुभकामना दिएका छन्। राजनीतिमा हावी परिवारवाद र चरम आर्थिक संकटविरुद्ध दुई वर्षअघि श्रीलंकाली जनताले गरेको आन्दोलनका कारण सत्ता परिवर्तन भई करिब दुई महिनाअघि (२१ सेप्टेम्बर, २०२४) मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा एनपिपीका नेता अनुराकुमार देशनायकेको विजय भएको थियो।

‘हालै कम्युनिष्ट पार्टीले जनताको लोकप्रिय अभिमत र विश्वास हासिल गरेर राजनीतिक, सामाजिक एवं आर्थिक परिवर्तनको नेतृत्व गर्न खरो उत्रिनुपर्छ भन्ने जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको मान्यतामा दृढ विश्वास राख्दै त्यसलाई कार्यान्वयन गरिरहेको हाम्रो पार्टी श्रीलंकामा हालै भएको निर्वाचन नतिजाप्रति खुसी प्रकट गर्छ’, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया