Listen LIVE

‘सफलतापछि म थोरै घमण्डी भएँ, केही गल्तीमा पछुतो पनि छ’

काठमाण्डौ : चरित्रमा प्राण भर्ने खालको अभिनयबाट मनीषा कोइराला दर्शकमाझ परिचित छिन् । ‘१९४२ : अ लभ स्टोरी’बाट बलिउडमा चम्किएकी उनले पिंकभिल्लासँगको अन्तवार्तामा स्टारडमले आफूलाई केही घमण्डी बनाएको र केही गल्ती गर्दा पछुताउने गरेको बताएकी छन् ।

मनीषालाई करियरको ठूलो सङ्क्रमणकालमा उनको व्यक्तित्वको विकास कसरी भयो र त्यसबेला आफूलाई अर्कै व्यक्ति जस्तो महसुस भयो कि भनेर सोधिएको थियो ।

जवाफमा उनले भनेकी छन्, ‘हो, म परिवर्तन भएँ की जस्तो लाग्छ । म अलि अहंकारी भएजस्तो लाग्यो । धेरै मेहनत नगरी, जब सफलता छिट्टै आउँछ, त्यसपछि परिवर्तन अपरिहार्य हुन्छ । जब तिमी अपरिपक्व र जवान छौ, त्यतिबेला तिमीले धेरै बुझ्दैनौ न त आफ्नो बारेमा, न त विश्वको बारेमा ।’

उनले भनिन्, ‘त्यसो भए, संसारको केन्द्र म आफै हुँ भन्ने कुराले तपाईलाई थोरै घमण्डी बनाउँछ । त्यतिबेला मलाई पनि ‘ब्रम्हाण्डको केन्द्र’ हुँ जस्तो लाग्यो ।’

‘दिल से’ अभिनेत्रीले थपिन्, ‘मैले केही गल्तीहरू गरेँ जसलाई लिएर आज पनि मलाई पछुतो छ । तर मलाई लाग्दैन कि मैले कुनै ठूलो गल्ती गरें । मेरो मतलब, यदि मैले जीवनमा कुनै गल्ती गरें भने, मैले ती आफ्नै लागि गरेँ । मैले अरू कसैलाई चोट पु¥याएकी पनि हुनसक्छु, हो ।’

उनले अघि भनिन्, ‘किनकि म एक संवेदनशील व्यक्ति हुँ । साथै, मेरो जीवनको ठूलो कारक मेरो आमा र बुबा हुनुहुन्छ जसले म जतिसुकै माथि चढेपनि, मलाई धर्तीमा ल्याउँदै भन्नुहुन्छ– जमिनमा बस ।’

मनिषाले सन् १९९१ मा सुभाष घईको फिल्म ‘सौदागर’बाट बलिउडमा डेब्यु गरेकी थिइन् । उनको पछिल्लो कामको रुपमा संजयलीला भन्साली निर्देशित नेटफ्ल्क्सि सिरिज ‘हीरामण्डी ः द डायमण्ड बजार’ थियो । यो सिरिजको पनि दोस्रो श्रृंखला निर्माणको तयारी भैरहेको छ ।

प्रतिक्रिया